आजभन्दा करिब चार दशकअघिसम्म पाँचथर जिल्लामा गोरेटो बाटो नै मुख्य आवागमनको माध्यम थियो। सडकका रेखासमेत नकोरिएको त्यस समय पहाडी जनजीवन पैदल यात्रामै निर्भर थियो। सडक सञ्जाल नजोडिएका स्थानमा हिँडेरै गन्तव्य पुग्नुपर्ने बाध्यता थियो। बटुवाहरू साँझ पर्नासाथ बाटो आसपासका छिटपुट घरमा बास बस्न विवश हुन्थे।

Nepalitheme

त्यसबेला पूर्वी नेपालका बासिन्दा रोजगार र व्यापारका सिलसिलामा घर छाडेर जिल्ला तथा देशबाहिर जाने चलन थियो। लामो यात्राका क्रममा बास बस्ने घरहरू बिरलै हुँदा बटुवाको बास नै क्रमशः बजारको रूप लिन थाले। पाँचथर जिल्लामा यस्ता बटुवा बासबाट विकसित भएका बजारहरूको संख्या उल्लेख्य छ।

फिदिम नगरपालिका–३, साविक लालिखर्क गाविसमा रहेको लालिखर्क, सुम्नीमा र कान्छीदोकान बजारको सुरुआत पनि बटुवाको बासबाट भएको स्थानीय बयोवृद्धहरूको भनाइ छ। २०३० सालअघि पाँचथर र तेह्रथुमका नागरिकका लागि खाद्यान्न र लत्ताकपडा किनमेल गर्ने मुख्य बजार लालिखर्क नै थियो। स्थानीयका अनुसार करिब २०१५ सालतिर भारतबाट सामान ल्याएर बिक्री गर्ने भारतीय नागरिकको पसलसमेत यहाँ सञ्चालनमा थियो। २०३२ सालमा मेची राजमार्ग निर्माण भएपछि भने लालिखर्क बजारको चाप घट्दै गएको स्थानीय राईले बताए।

ऊनको स्वीटर टेजर

लालिखर्क हुँदै इलाम र झापा तथा भारतको दार्जिलिङ र सिक्किम जाने पैदल गोरेटो बाटो रहेको थियो। त्यस समय यहाँ बास बस्ने बटुवाहरूको चहलपहल निकै थियो। राई र नेवार समुदायको बसोबास रहेको लालिखर्कमा अहिले चहलपहल घटेपछि सामुदायिक होमस्टे सञ्चालन गरी पर्यटक आकर्षित गर्ने प्रयास भइरहेको स्थानीय टंक राईले बताए।

लालिखर्क नजिकै रहेको सुम्नीमा बजारको इतिहास पनि बटुवा बाससँग जोडिएको छ। स्थानीय भत्तबहादुर राईका अनुसार सुरुमा त्यहाँ अम्बुले राईको एक घर मात्र थियो, जसलाई अम्बुलेटार भनिन्थ्यो। पछि सुम्नीमा क्लब गठन भई खेलकुद गतिविधि सुरु गरियो। सडक सञ्चालनसँगै घरबस्ती विस्तार हुँदै अम्बुले हुँदै सुम्नीमा बजार चोकको विकास भएको हो। विद्यालय र सामुदायिक वनलाई समेत सुम्नीमा नामाकरण गरिएपछि बजारको पहिचान स्थापित भयो।

फाँटिलो जमिनमा रहेको सुम्नीमा बजारमा राई समुदायको मुन्धुमी चुलो तारारुङरी खिम, स्वर्गिक मार्गको योगशाला तथा इसाइ धर्मावलम्बीको चर्च निर्माण भएका छन्। राई र तामाङ समुदायको बसोबास रहेको यो बजार पछिल्ला वर्षमा तीव्र रूपमा विस्तार हुँदैछ।

यसै बाटोमा पर्ने कान्छीदोकान बजार पनि सुरुमा बटुवा बास बस्ने स्थान नै थियो। स्थानीय प्रकाश तामाङका अनुसार प्रारम्भमा त्यहाँ एक घर मात्र थियो। पछि सडक बनेसँगै गर्जमा तामाङ गोलेले पसल सञ्चालन गरे। २०४६ सालमा राँके बजारका जेठीदोकान, पौवाभञ्ज्याङ माइलीदोकान र आफ्नो पसलको नाम कान्छीदोकान राखिएपछि यही नाम स्थापित भएको हो। घरको ढोकामा ढुंगेखरीमा ‘कान्छीदोकान’ लेखिएपछि बजारको पहिचान बनेको तामाङले बताए। हाल यहाँ एक दर्जनभन्दा बढी घरपसल सञ्चालनमा छन्। तामाङ, गुरुङ र शेर्पा समुदायको बसोबास रहेको यस क्षेत्रमा संघीय पुनर्संरचनापछि वडा नं. ३ को कार्यालय स्थापना भएसँगै चहलपहल थप बढेको छ।

लालिखर्कमा बजार सुरु भएपछि किसानले उत्पादन गरेका कृषिजन्य वस्तु सटही गर्ने उद्देश्यले ‘दुतिया बजार’ लाग्न थाल्यो। बेँसीका किसानले धान र फलफूल तथा लेकाली किसानले आलु साटासाट गर्ने यो बजार हरेक महिनाको २५ गते लाग्दै आएको छ। अहिले पनि दुतिया बजार लेक र बेँसीका किसानबीच किनबेच हुने रैथाने बजारको रूपमा परिचित छ। यसले लालिखर्क, सुम्नीमा र कान्छीदोकान बजारलाई थप आर्थिक टेवा पुर्‍याएको छ।

यी बजारहरूको प्रवर्द्धन, व्यवस्थापन र आकर्षण बढाएर स्थानीयको आर्थिक सुधार गर्ने प्रयास भइरहेको वडा अध्यक्ष नरेन्द्र गुरुङले बताए। कृषि, पर्यटन, सांस्कृतिक पहिचान र पूर्वाधार विकासमार्फत बजार विस्तारमा स्थानीय तह सक्रिय रूपमा लागिरहेको उनको भनाइ छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय