पाँचथर। फाल्गुनन्द गाउँपालिका स्तरीय आठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सिद्धदेवी माध्यमिक विद्यालय, नवमीडाँडाले पहिलो स्थान हासिल गरेको छ। जनकल्याण माध्यमिक विद्यालय, फाल्गुनन्द–५, फाक्तेप कोल्बुङको खेल मैदानमा सम्पन्न प्रतियोगितामा सिद्धदेवी माविले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जित्न सफल भएको हो।
६६ स्वर्ण पदकका लागि आयोजित प्रतियोगितामा सिद्धदेवी माविले ४० स्वर्ण, ११ रजत र ५ कास्य पदकसहित प्रथम स्थान प्राप्त गरेको छ। त्यसैगरी, घुर्विसे पञ्चमी माविले १२ स्वर्ण, ७ रजत र ५ कास्य पदकसहित दोस्रो तथा जनकल्याण माविले ७ स्वर्ण, ५ रजत र ८ कास्य पदकसहित तेस्रो स्थान हासिल गरेको छ।
लगातार तीन पटक प्रथम हुँदै, सिद्धदेवी माविले यस वर्ष राष्ट्रपति रनिङ शिल्ड स्थायी रूपमा आफ्नो स्वामित्वमा राख्न सफल भएको छ। कराँते, तेक्वान्दो र उसु विधामा अन्य विद्यालयको सहभागिता नभएकाले सिद्धदेवी माविले एकल रूपमा ३५ स्वर्ण पदक जित्दै अग्रता कायम गरेको थियो।

मंसिर २७ गतेदेखि सुरु भएको प्रतियोगिता २९ गते समापन भएको थियो। समापन कार्यक्रममा आयोजक विद्यालयका प्रधानाध्यापक पूर्णकुमार सदेम्बेले स्वागत मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रममा प्रथम हुने विद्यालयका प्रधानाध्यापक वीरेन्द्र खड्का, फाल्गुनन्द गाउँपालिकाको शिक्षा शाखा प्रतिनिधि बाबुराम राईसहित अन्य अतिथिहरूले शुभकामना व्यक्त गरेका थिए। कार्यक्रमको सञ्चालन शिक्षक गोपाल चेम्जोले गरेका थिए।
प्रतियोगितामा प्रथम हुने विद्यालयले २५ हजार, दोस्रोले २० हजार र तेस्रोले १५ हजार रुपैयाँ नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्। पुरस्कार वितरण कार्यक्रमका प्रमुख अतिथि फाल्गुनन्द गाउँपालिकाका उपाध्यक्ष ठाकुरसिं नेम्बाङ, विशेष अतिथि वडाध्यक्ष सन्तोष कुमार नेम्बाङ र नारायण प्रसाद आङ्देम्वेले विजेता टोलीलाई पुरस्कार प्रदान गरेका थिए।
प्रतियोगितामा फाल्गुनन्द गाउँपालिकाका १२ माध्यमिक विद्यालयका करिब ६ सय विद्यार्थी खेलाडीहरूले सहभागिता जनाएका थिए। जलसिं मावि ३ स्वर्ण, ४ रजत र ५ कास्यसहित चौथो, सत्यहाङ मावि २ स्वर्ण, २ रजत र १ कास्यसहित पाँचौँ, जयनारायण आदर्श मावि १ स्वर्ण, २ रजत र ३ कास्यसहित छैटौँ, सिद्धेश्वरी मावि चिलिङदिन १ स्वर्ण, १ रजत र १ कास्यसहित सातौँ तथा सारताप मनोरल मावि २ रजत र १ कास्य पदकसहित आठौँ स्थानमा रहे।
प्रतियोगिता जनकल्याण माध्यमिक विद्यालयद्वारा आयोजित गरिएको थियो र विद्यालय व्यवस्थापन समिति अध्यक्ष हर्कबहादुर चेम्जोङको अध्यक्षतामा सम्पन्न भएको थियो।





