पाँचथर, कुम्मायक–५, लोरिपामा मंसिर १९ र २० गते कपिल गोत्रीय बोहोरा समुदायले भव्य उधौली गोठधुप तथा कुलपूजा सम्पन्न गरेको छ। बोहोराबन्धु परिवार प्रतिष्ठान, कुम्मायक शाखा (यासोक) को आयोजनामा सम्पन्न कार्यक्रम मंसिर १९ गते बिहान ९ बजे कुलधामी भीमबहादुर बोहोराको निवासमा गोठधुप, दाजुभाइहरूको सामूहिक भेला तथा सांस्कृतिक अनुष्ठानबाट सुरु भएको थियो। मुख्य पूजाविधि भने मंसिर २० गते बिहान ११ बजे कुलधामीद्वारा सम्पन्न गरिएको थियो। सहभागी बन्धुहरूले फलफूल, भेटी, दुध, धूप, अक्षता लगायत सामग्रीसहित परम्परागत ढंगले पूजा–अर्चना गरेका थिए।
कार्यक्रममा कुम्मायक, तुम्बेवा, मिक्लाजुङ, इलाम (फाकफोकथुम/खाम्बाङ), झापा, मोरङ, सुनसरी लगायत विभिन्न जिल्लाबाट बोहोरा बन्धुहरूको उल्लेखनीय सहभागिता रह्यो। प्रतिष्ठानका केन्द्रीय उपाध्यक्ष लालबहादुर बोहोरा, केन्द्रीय सचिव पहलमान बोहोरा, कुम्मायक शाखा यासोकका अध्यक्ष यामबहादुर बोहोरा, उपाध्यक्ष युवराज बोहोरा, सचिव नरेन्द्र बोहोरा, कोषाध्यक्ष तेजबहादुर बोहोरा, समितिका सदस्य तथा बालबालिकादेखि ९० वर्षभन्दा माथिका अग्रजसम्मको उपस्थिति रहेको थियो। कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबै बन्धु, चेली–बेटी र अग्रजप्रति शाखाले आभार व्यक्त गरेको छ।

शाखाको २०७९ सालको कार्यसमितिले अनिवार्य सहभागिताको निर्णय गरेकाले कार्यक्रम थप व्यवस्थित बनेको उल्लेख गरिएको छ। कुलधामी भीमबहादुर बोहोराले दान गरेको एक रोपनी जग्गामा निर्माण गरिएको लोरिपा कुल मन्दिर हाल बोहोरा समुदायको साझा आस्थाको केन्द्र बनेको छ। मन्दिर निर्माणका लागि वडा नम्बर ५ कार्यालयबाट १ लाख ९३ हजार ८ सय रुपैयाँ र समुदायबाट ६ लाख २३ हजार ९४७ रुपैयाँ संकलन गरी कुल ८ लाख १७ हजार ७४७ रुपैयाँ खर्च भएको जनाइएको छ। मन्दिर परिसरमा सडक, खानेपानी, शौचालय, भुइँमा टायल तथा पूजास्थलको थप व्यवस्थापन आवश्यक रहेको पनि बताइएको छ।
कार्यक्रमका क्रममा कुलधामीले ५२ कुलदेवताको उत्पत्ति, सत्य–त्रेता–द्वापर–कलियुगसम्मको परम्परा, कपिल गोत्रीय बोहोरा वंशले अंगीकार गर्दै आएको धार्मिक विधि र लोरिपालाई पवित्र थलो मान्ने आधारबारे विस्तृत जानकारी दिएका थिए। साथै शाखाको वंशावली अद्यावधिक कार्य निरन्तर जारी रहेको र वंशावलीमा बाजे–बुबा, आमा, छोरी–चेलीसमेतको सविस्तार विवरण समेटिएको सचिव नरेन्द्र बोहोराले जानकारी दिए।
यस शाखाले २०७३ सालमा गरेका सात महत्वपूर्ण निर्णयहरू—शुभ–अशुभ कार्यमा अनिवार्य निमन्त्रणा, मृत्युमा दशौँ दिन सामूहिक उपस्थिति, गोठधुप–कुलपूजामा अनिवार्य सहभागिता, परदेशमा बस्नेको मृत्यु समाचार तुरुन्त जानकारी दिने, जुठो चलन यथावत राख्ने, काजकिरिया सम्पन्न नहुन्जेल शुभकार्य रोक्ने र समितिले गरेका निर्णय कार्यान्वयन गर्ने—हालसम्म निरन्तर रूपमा लागू हुँदै आएका छन्।
बोहोराबन्धु परिवार प्रतिष्ठानका पूर्व केन्द्रीय सचिव जगत बोहोराका अनुसार वि.सं. २०४१ पौष ७ गते मानबहादुर बोहोराको अध्यक्षतामा सुरु भएको यस प्रतिष्ठानले हालसम्म १७औँ पुस्तासम्मको वंशावली अभिलेखीकरण गरिसकेको छ। त्यसपछि क्रमशः मोतिबहादुर बोहोरा, टेकबहादुर बोहोरा, रत्नबहादुर बोहोरा, ललित बोहोरा हुँदै हाल देवेन्द्र बोहोरा नेतृत्वमा प्रतिष्ठान सञ्चालन भइरहेको छ।
३० वर्षभन्दा बढी समय सचिवको जिम्मेवारी सम्हालेका सल्लाहकार संयोजक जगत बोहोराले विभिन्न गतिविधि तथा वंशावली तथ्याङ्क संकलन–अध्ययन गरिएको बताए। २०६४ सालमा प्रतिष्ठान दर्ता भएपछि २०६८ मा ललित बोहोराको नेतृत्वमा थप सक्रियता बढेको थियो। डिल्लीबहादुर बोहोराको संयोजकत्वमा गठित वंशावली खोज तथा संकलन समितिले २०७० सालमा ३४४ पृष्ठको पहिलो संस्करण ५०० प्रति भन्दा बढी प्रकाशित गरेको थियो। हालको वंशावलीमा देखिएका छुट र त्रुटि सच्याएर दोस्रो संस्करण छिट्टै प्रकाशन गर्न बन्धुहरूले माग गरेका छन्।
वि.सं. २०४२ माघ २९ गतेको निर्णयअनुसार रत्नबहादुर, रुद्रबहादुर र जगत बोहोराको टोलीले भैरहवा, गोरखा र काठमाडौँ क्षेत्रका बोहोरा परिवारको खोजी गरेपछि बोहोरा बन्धुहरू कपिल गोत्रीय भएको पुष्टि भएको थियो। ८० वर्षे पण्डित दण्डपाणि अर्याल र योगी नरहरिनाथसँगको भेटपछि बोहोराहरू कपिलदेवका शिष्य–सन्तान भएको परम्परा प्रमाणित गरिएको वंशावलीमा उल्लेख छ।
बन्धुहरूलाई एकत्रित गर्ने र गोत्रको टुंगो लगाउने उद्देश्यले कनकाई माई नजिक कोटिहोम यज्ञस्थलमा वि.सं. २०४१, २०४२ र २०४३ मा क्रमशः श्रीमद्भागवत्, श्रीदेवीभागवत् र हरिवंश पुराणको आयोजनासमेत गरिएको थियो, जसमा करिब ४ सय बोहोरा घरधुरी परिवार सहभागी भएका थिए। हाल झापाको दमक–४ स्थित कृष्ण मन्दिर क्षेत्र प्रमुख कुल मन्दिरका रूपमा प्रयोग भइरहेको छ भने कोटिहोममा नयाँ मन्दिर निर्माण अन्तिम चरणमा पुगेको जानकारी शाखाले दिएको छ।
पूर्वी नेपाल क्षेत्रमा बोहोराहरूको मूल थाकथलो रामेछाप मानिन्छ। पुर्खाहरू रामेछापबाट भोजपुर हुँदै पाँचथरको लोरिपासहित झापा, मोरङ, सुनसरी, इलाम तथा अन्य विभिन्न स्थानमा फैलिएको इतिहास रहेको छ। यस वर्ष झापा र मोरङमा बसोबास गर्ने बोहोरा बन्धुहरू पनि लोरिपामै भेला भई सामूहिक पूजा–अर्चनामा सहभागी भएका थिए।
लोरिपामा सम्पन्न गोठधुप र कुलपूजा धार्मिक अनुष्ठानमा मात्र सीमित रहेन, बरु वंशीय पहिचान, परम्परा संरक्षण र समुदायिक एकता सुदृढ बनाउने महत्वपूर्ण अवसरका रूपमा अविस्मरणीय बनेको सहभागीहरूले बताएका छन्। यस कार्यक्रमले बोहोरा समुदायभित्र परम्पराको संरक्षण र एकताको सशक्त सन्देश दिएको छ।





