पाँचथर । । फालेलुङ गाउँपालिका–३ र ४ काे संगम स्थल थाप्लिडाँडाको सिर्लिङ्गी टारमा मंसिर १२ गते शुक्रबारदेखि तेस्रो फालेलुङ पर्यटन महोत्सव सुरु भएको छ। तीनसिमाना जनसेवा समाज नेपाल, मेमेङको आयोजनामा सुरु भएको महोत्सव फालेलुङ गाउँपालिकाको मुख्य आर्थिक सहयोगमा सञ्चालन भइरहेको हो।
महोत्सवको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष वीरविक्रम थाम्सुहाङले स्थानीय उत्पादनको प्रवर्द्धन र पर्यटन विकासलाई लक्षित गरी महोत्सव आयोजना गरिएको बताए।

फालेलुङमा २०७४ सालदेखि एसियामै पहिलो पटक ‘चौरी पर्यटन महोत्सव’ सञ्चालन हुँदै आएको छ भने २०८० सालदेखि फालेलुङ पर्यटन महोत्सव थप रूपमा आयोजना हुँदै आएको आयोजक समितिले जनाएको छ।
फुटबल प्रतियोगितासँगै महोत्सवको सुरुवात
उद्घाटन दिवसमै महिला र पुरुष दुवै समूहको फुटबल प्रतियोगिता सुरु गरिएको छ। पहिलो पुरुषतर्फको खेल फालेलुङ–२ र फालेलुङ–६ बीच प्रतिस्पर्धा भयो। खेल निर्धारित समयमा बराबरीमा टुंगिएपछि ट्राइबेकरमा फालेलुङ–६ विजयी बन्दा फालेलुङ–२ शून्य गोलमा बाहिरिनुपर्यो।
महिलातर्फको खेलमा फालेलुङ–३ ले फालेलुङ–८ लाई २–० गोलले हराउँदै विजयी भयो।
शनिबारका खेल
शनिबार महिलातर्फ फालेलुङ–५ र फालेलुङ–७ बीच प्रतिस्पर्धा हुने छ भने पुरुषतर्फ फालेलुङ–२ र फालेलुङ–७ बीच खेल हुने आयोजकले जनाएको छ।
महोत्सव १५ गतेसम्म
महोत्सव मंसिर १५ गतेसम्म सञ्चालन हुनेछ। सोही दिन महिला तथा पुरुष दुवै समूहको फुटबल फाइनल खेल हुनेछ। साथै खुला पुरुष म्यारथन प्रतियोगिता पनि १५ गते नै आयोजना गरिनेछ।
नगद पुरस्कार
फुटबलतर्फ पुरुष र महिला दुवै समूहका विजेताले ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। उपविजेताले २५ हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन्।
म्याराथनतर्फ प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ३० हजार, २० हजार र १० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।
उद्घाटनमा विशिष्ट उपस्थितिः
उद्घाटन समारोहमा गाउँपालिका अध्यक्ष वीरविक्रम थाम्सुहाङ प्रमुख अतिथिका रूपमा उपस्थित थिए। विशेष अतिथिमा गाउँपालिका उपाध्यक्ष महेन्द्र जबेगू, फालेलुङ–३ का वडा अध्यक्ष शक्ति प्रसाद केरुङ तथा फालेलुङ–४ का वडा अध्यक्ष सन्तवीर राई उपस्थित थिए।








