पाँचथर।
पाँचथरको फालेलुङ गाउँपालिका–३, ताङ्लेपा घर भई हाल मलेसियामा बस्दै आएका उदय केरुङले सोलुखुम्बु जिल्लाको आमा दब्लम हिमाल सफलतापूर्वक आरोहण गरेका छन्। ५ वटा हिमाल आरोहण गरिसकेका केरुङले कार्तिक ३० गते बिहान ६ बजेर ४५ मिनेटमा ६ हजार ८ सय १२ मिटर उचाइको आमा दब्लम हिमालको चुचुरो टेक्न सफल भएका हुन्।
आमा दब्लम आरोहणका लागि क्याम्प–२ बाट कार्तिक २९ गते राति १० बजे प्रस्थान गरेका उनी त्यसपछि ३० गते बिहान ६:४५ मा शिखरमा पुगेका हुन्। यसअघि उनीले सोही क्षेत्रअन्तर्गत पर्ने ६ हजार १ सय ८९ मिटर उचाइको स्लान्ट पिक पनि सफलतापूर्वक आरोहण गरेका थिए।

उदय केरुङले आफ्नो हिमाली यात्राको सुरुवात सोलुखुम्बुस्थित मेरा पिक (६,४७६ मिटर) बाट गरेका थिए। त्यसपछि उनले क्रमशः गोरखास्थित ८,१६३ मिटर उच्च मनास्लु हिमाल, ६,११९ मिटर उचाइको लोबुचे पिक, र ८,८४८.८४ मिटर उचाइको विश्वकै सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका थिए। पाँचौं सफल आरोहणको रूपमा उनले पुनः ६,१८९ मिटरको स्लान्ट पिक चढेपछि यो पटक आमा दब्लम हिमाल विजय गरेका हुन्। उनले यस पटकको अभियान साटोरी एडभेन्चरमार्फत पूरा गरेका हुन्।
बाल्यकालदेखि नै हिमाल चढ्ने ठूलो रहर रहेका केरुङ हाल १० वर्षदेखि मलेसियामा रोजगारीका सिलसिलामा बस्दै आएका छन्। उनले आफ्नो गाउँ फालेलुङको प्रतीक चिन्ह र नेपालको राष्ट्रिय झण्डा सहित सगरमाथा, अन्य हिमालहरू र ताजा आरोहण आमा दब्लमको चुचुरोसम्म बोकेर पुगेको बताए।
केरुङले पाँच हजार मिटरभन्दा तलका धेरै हिमालहरू पनि पहिले नै आरोहण गरिसकेका छन्। उनले आगामी दिनमा विदेशका विभिन्न हिमालहरू आरोहण गर्ने तयारी पनि गरिरहेका छन्। सफल आरोहणपछि उनी आज सोलुखुम्बुबाट काठमाडौं फर्कने तयारीमा रहेको जानकारी फालेलुङ न्यूजलाई दिए।
तस्विरहरु: सौजन्य उदय केरुङ









