फालेलुङ । युवा कम्युनिस्ट लिग (वाईसिएल) नेपालले श्रम तथा उत्पादन अभियानअन्तर्गत फालेलुङ गाउँपालिका–७ मा सडक मर्मत, गुम्बा सरसफाइ तथा वृक्षारोपण गरेको छ।
मंगलबार फालेलुङ समिति तथा वडा नम्बर ७ को पहलमा गुम्बाडाडास्थित बौद्ध धर्मावलम्बीहरुको साङ्मा निङमा थेछेलिङ गुम्बा परिसरमा सरसफाइ र वृक्षारोपण गरिएको हो। कार्यक्रममा ज्याकाराण्डा, पारिजात, कल्की र तेजपातलगायतका बिरुवा रोपिएका छन्।
यसैगरी, अभियानअन्तर्गत गुम्बाडाडास्थित फिदिम–फलोट सडकखण्डमा मर्मत कार्य गरिएको छ। पहिरोका कारण सडकमा थुप्रिएको माटो हटाइएर नाली सफा गरिएको वाईसिएल वडा–७ का अध्यक्ष विजय जबेगुले जानकारी दिनुभयो। सडकमा माटो थुप्रिँदा यात्रुहरू चिप्लिएर लड्ने र वर्षाको समयमा प्रहरी चौकी नजिकै पानी कटाउँदै बस्नुपर्ने समस्या रहेको सिदिन प्रहरी चौकीका हवल्दार गणेश घतानीले बताए। उनले वाईसिएलको श्रमदानपछि समस्या समाधान हुने आशा व्यक्त गरे।

श्रम तथा उत्पादन अभियानमा माओवादी केन्द्र पाँचथरका सह–इन्चार्ज सुर्यमान जबेगु, जिल्ला समन्वय समितिका संयोजक विशाल रसाइली, वाईसिएल नेपाल केन्द्रीय सदस्य तथा पाँचथर इन्चार्ज सागर नेम्बाङ, केन्द्रीय सचिवालय सदस्य मनेश आङ्बो, प्रदेश सह–सचिव रोहित आङ्बो, प्रदेश सदस्य भुपाल तामाङ, जिल्ला संयोजक गणेश तुम्रोकलगायत नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै वाईसिएल पाँचथरका इन्चार्ज सागर नेम्बाङले श्रम तथा उत्पादन अभियानलाई लक्षित गरेर गरिएको व्यङ्ग्यप्रति आपत्ति जनाउनुभयो। उहाँले श्रम र उत्पादनको इतिहास माओवादी आन्दोलन सुरु भएको समयदेखि नै जीवित रहेको उल्लेख गर्दै, “कच्ची सडक निर्माण, खेलमैदान निर्माण, पुलपुलेसा तथा सार्वजनिक स्थलहरूमा श्रमदानको परम्परा पुरानै हो, तर अहिलेको पुस्ताले नबुझेर हर्क साम्पाङको सिको गरेको भन्ने आरोप निराधार छ,” भन्नुभयो।








