पाँचथर । ताप्लेजुङ जिल्लाको सिदिङ्वा गाउँपालिका–१ स्थित तिम्बुङ पोखरी क्षेत्रमा दोस्रो तिम्बुङ पोखरी ट्रेल रन (म्याराथन–२०८२) आयोजना हुने भएको छ। झण्डै ४,३८० मिटर उचाइमा अवस्थित यस क्षेत्रमा भदौ २३ देखि २६ गतेसम्म प्रतियोगिता सञ्चालन हुने आयोजकले जनाएका छन्।
भारतको सिक्किम, पाँचथर र ताप्लेजुङको सीमाना जोडिएको तिम्बुङ पोखरी क्षेत्र जैविक र धार्मिक पर्यटकीय हिसाबले निकै महत्वपूर्ण मानिन्छ। यहाँ केञ्जो, बहुमूल्य जडीबुटी तथा वनस्पति, राष्ट्रिय चरा डाँफे, मयुर, दुर्लभ रेडपाण्डा, याक र चौरिगोठ प्रमुख आकर्षण मानिन्छन्। हरियाली चौर, फराकिलो घाँसेमैदान र हिमाली सौन्दर्यले पर्यटकलाई मोहित पार्ने गरेको छ।
महोत्सवमा सहभागीले चौरिगाई, उराङ तथा हिमाली संस्कृतिको अवलोकन गर्न पाउनेछन्। साथै तिम्बुङ पोखरीलगायत अन्य पोखरीहरूको दर्शन, केञ्जोजस्ता हिमाली जडीबुटी र विभिन्न फलफूलको अवलोकन गर्न सकिने पर्यटन व्यवसायी अमिर राईले जानकारी दिए। उनका अनुसार महोत्सवले स्थानीय पर्यटनलाई प्रवर्द्धन गर्ने मात्र नभई व्यावसायिक पर्यटन विकासमा समेत टेवा पुर्याउने अपेक्षा गरिएको छ।

कार्यक्रम व्यवस्थापनका लागि सिदिङ्वा गाउँपालिकाले ११ लाख र पर्यटन कार्यालय काँकडभिट्टाले ५ लाख बजेट विनियोजन गरेको समितिका अमिर राईले बताए। प्रतियोगिता तिम्बुङ पोखरी संरक्षण तथा व्यवस्थापन समितिको आयोजना र विभिन्न निकायको सहयोगमा सञ्चालन हुने भएको हो।
यसपटकको ट्रेल रन प्रतियोगितामा खुला, महिला र स्थानीय गरी तीन विधामा प्रतिस्पर्धा हुनेछ। खुला तर्फ प्रथम हुनेले ५० हजार, द्वितीयले ३५ हजार र तृतीयले २० हजार रुपैयाँ पुरस्कार पाउने छन्। महिला तर्फको विजेताले २५ हजार र स्थानीय तर्फको विजेताले १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। साथै सबै विजेताले नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन्।
प्रतियोगितामा १५ किलोमिटर दूरी पूरा गर्नुपर्ने आयोजकले जनाएको छ।





