फालेलुङ, पाँचथर । नेकपा (माओवादी केन्द्र)को सहायक संगठन योङ कम्युनिस्ट लिग (वाइसीएल)ले देशभर श्रमसँग उत्पादन अभियान सञ्चालन गरिरहेको छ। त्यही अभियानअन्तर्गत पाँचथरमा समेत वाइसीएल विभिन्न सामाजिक कार्यमा सक्रिय रहँदै आएको छ।

Nepalitheme
Pasupati Ayurvedic

सार्वजनिक स्थल सरसफाइ, किसानसँगै खेतबारीमा काम, प्राकृतिक विपत्तिपीडितलाई सहयोग, विपन्नका लागि निःशुल्क घर निर्माण, र वृक्षारोपणलगायतका गतिविधिले वाइसीएल स्थानीयबीच लोकप्रिय बन्दै गएको छ। वाइसीएल पाँचथर इन्चार्ज सागर नेम्वाङका अनुसार जिल्लामा अहिलेसम्म ७ हजारभन्दा बढी बिरुवा रोपिसकिएको छ।

यसै क्रममा बिहीवार फालेलुङ गाउँपालिका–१ र २ का विभिन्न सार्वजनिक स्थलहरूमा करिब २५० भन्दा बढी बिरुवा रोपिएको छ। फालेलुङ–१ स्थित किरात माङ्हिम जाने बाटो सरसफाइसहित वृक्षारोपण, वडा कार्यालय परिसर, सरस्वती मावि खुवा परिसरमा वृक्षारोपण गरिएको थियो। फालेलुङ–२ मा भने याङवरक गाउँपालिकासँगको सिमानामा रहेको चरी भञ्ज्याङ प्रहरी चौकी परिसर, चरी भञ्ज्याङ मन्दिर जाने सिँढी मार्ग र मन्दिर परिसरमा सरसफाइ तथा वृक्षारोपण गरिएको वाइसीएल नेपाल केन्द्रीय सदस्य तथा माओवादी केन्द्र फालेलुङ कमिटी उपाध्यक्ष मनेश आङ्बोले जानकारी दिए।

ऊनको स्वीटर टेजर

कार्यक्रममा माओवादी केन्द्रसँग आस्था राख्ने मात्र नभई अन्य दलका कार्यकर्ताहरू पनि सहभागी भएका थिए। फालेलुङ–१ को माङ्हिम सरसफाइ तथा वृक्षारोपण कार्यक्रममा नेकपा (एकीकृत समाजवादी)का नेता एवं निवर्तमान वडा अध्यक्ष श्रीप्रसाद जबेगूले पनि उपस्थित भई अभियानलाई समर्थन जनाएका थिए। उनले सबै दल र समुदाय मिलेर यस्ता सामाजिक कार्यमा संलग्न हुनुपर्ने आवश्यकता औंल्याए।

वाइसीएल पाँचथर अध्यक्ष गणेश तुम्रोकका अनुसार भदौ महिनाभर यो अभियानलाई निरन्तरता दिइनेछ। जिल्लाका सबै वडामा आवश्यकताअनुसार वृक्षारोपण, सरसफाइ र अन्य सामाजिक गतिविधि सञ्चालन गर्ने योजना रहेको उनले बताए।

आजको कार्यक्रममा पार्टीका प्रदेश सदस्य रोशन रिजाल, वाइसीएल केन्द्रीय सचिव विक्रम शंकर, केन्द्रीय सदस्य एवं फालेलुङ पार्टी उपाध्यक्ष मनेश आङ्बो, केन्द्रीय सदस्य तथा पाँचथर इन्चार्ज सागर नेम्वाङ लगायत प्रदेश, जिल्ला, पालिका र भातृ संगठनका नेताहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

Pasupati Ayurvedic

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय