पाँचथर । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को सहायक संगठन योङ कम्युनिस्ट लिग (वाइसीएल) पाँचथर र फिदिम नगरपालिका–९ लुङ्फाबुङ वाइसीएल कमिटीले साउन १७ गते मंगलबार वृक्षरोपण तथा सडक सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रम अन्तर्गत फिदिम नगरपालिका–९ लुङ्फाबुङको काफलबोटे, चिहानडाँडा र भवानी माङ्हिम जाने सिडिमार्ग क्षेत्रमा सरसफाइ र वृक्षरोपण गरिएको वाइसीएल पाँचथरका अध्यक्ष गणेश तुम्रोकले जानकारी दिए। उनका अनुसार, अभियान भदौ ३० गतेसम्म निरन्तर सञ्चालन हुने छ। उक्त अवधिभर जिल्लाका सबै स्थानीय तहका टोलहरूमा वृक्षरोपणका साथै सडक, पुल र पैदलमार्गको सरसफाइ गरिनेछ।
अध्यक्ष तुम्रोकले भने, “यो अभियान हाम्रो माटो, पानी र हावाको रक्षा मात्र होइन, हरियाली र स्वच्छताको माध्यमबाट नयाँ समाज निर्माणको प्रतिबद्धताको प्रतिविम्ब हो। तपाईंहरूको सक्रियता नै हाम्रो क्रान्तिको हरियो सुगन्ध हो।”

आजको कार्यक्रममार्फत ५ सयभन्दा बढी बिरुवा रोपिएको आयोजकले जनाएको छ। अभियानमा पार्टीका प्रदेश सचिवालय सदस्य तथा पाँचथर सह–इन्चार्ज दिनेश लावती, प्रदेश सदस्य एवं फिदिम नगरपालिका उप–प्रमुख राधाकृष्ण न्यौपाने, वाइसीएल केन्द्रीय सचिव बिक्रम संखर, केन्द्रीय सचिवालय सदस्य मनेश आङ्बो, वाइसीएल केन्द्रीय सदस्य तथा पाँचथर इन्चार्ज सागर नेम्वाङ, जिल्ला संयोजक गणेश तुम्रोक लगायत वाइसीएल जिल्ला पदाधिकारी र पार्टीका विभिन्न तहका नेताहरूको उपस्थिती रहेको थियो।








