फिदिम।
पाँचथरको फिदिम नगरपालिका–७ मा नागरिकको सामाजिक सुरक्षा भत्ता नविकरणका लागि घरदैलो सेवा सुरु गरिएको छ। आर्थिक वर्ष २०८२/८३ का लागि सामाजिक सुरक्षा भत्ताको नविकरण गर्न वडाका जनप्रतिनिधि र नगरपालिकाका कर्मचारीहरू घरघरमै पुगेका हुन्।
बर्खायाम सुरु भएकाले जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिहरूलाई वडामा आउन कठिन हुने भएकाले उनीहरूको घरमै सेवा पुर्याइएको वडा सदस्य बलबहादुर राईले जानकारी दिनुभयो।

साउन १६ गतेदेखि २० गतेसम्म फिदिम नगरपालिकाको कार्यालयबाट पञ्जिकरण प्रमुख सुमन बरालको टोली र वडा जनप्रतिनिधिहरूको समन्वयमा घरदैलो सेवा सञ्चालन गरिएको हो। “कोही पनि सेवा सुविधाबाट वञ्चित नहोऊन् भन्ने उद्देश्यले यो पहल गरिएको हो,” वडा सदस्य राईले भन्नुभयो।
उक्त अभियानअन्तर्गत चालु वर्षमा हिँड्न नसक्ने र वडा कार्यालय आउन कठिन हुने १६० जना नागरिकहरूलाई घरमै पुगेर सेवा दिइएको छ। साथै, हालसम्म जम्मा २९१ जनालाई घरदैलो सेवा प्रदान गरिएको राईले जानकारी दिनुभयो।
घरमै सेवा पाउँदा स्थानीयवासीहरू खुसी भएका छन्।








