ताप्लेजुङ ।
ताप्लेजुङको सिदिङवा गाउँपालिका–७, अम्बटारमा अवस्थित ऐतिहासिक चमेरे गुफा पूर्वाधार र प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ। मोटरबाटो सहज नहुँदा र समुचित प्रवर्द्धन नहुँदा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण घट्दो क्रममा रहेको स्थानीयवासीको गुनासो छ।
चारैतिर हरियाली र मनमोहक दृश्यले भरिएको प्राकृतिक सौन्दर्ययुक्त यो गुफा जंगलको फेदमा अवस्थित छ। तर, गुफासम्म पुग्ने कच्ची बाटोको अवस्था नाजुक भएको र पर्याप्त विकास नहुनुले गुफाको अस्तित्व नै संकटमा पर्न सक्ने चिन्ता स्थानीयले व्यक्त गरेका छन्।
७७ वर्षीया स्थानीय बासिन्दा तारामाया तामाङका अनुसार गुफाको विकासमा स्थानीय सरकारले चासो नदेखाउँदा यहाँ पुग्ने आन्तरिक पर्यटकको संख्या निकै न्यून छ। “गुफाको विकास भए गाउँको मुहार नै फेरिन सक्छ,” उहाँको भनाइ छ।

चट्टानी पहाडभित्र अवस्थित यस गुफामा चमेराको बास हुने भएकाले यसको नाम ‘चमेरे गुफा’ रहन गएको बताइन्छ। वि.सं. २०४७ मा पत्ता लागेको भनिए पनि कसले र कसरी पत्ता लगायो भन्ने विषयमा यकिन जानकारी छैन। कतिपय स्थानीयका अनुसार घाँस काट्न गएका बेला गुफा फेला परेको हो।
बर्खायाममा यातायात असहज हुने र हिउँदमा मात्र साना सवारी साधन पुग्ने भएकाले पर्यटकको आउजाउमा समस्या हुने गरेको छ। स्थानीय सरोकारवालाहरू गुफालाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नुपर्नेमा जोड दिन्छन्।
चमेरे गुफा संरक्षण समितिका अध्यक्ष अविचन्द्र लिम्बुका अनुसार सडक पूर्वाधारको अभावले पर्यटकलाई गन्तव्यसम्म पुग्न कठिनाइ हुने गरेको छ। “गुफासम्म पुग्ने बाटो निर्माणका लागि गाउँपालिकालाई पटक–पटक ध्यानाकर्षण गराए पनि कुनै सुनुवाइ भएको छैन,” अध्यक्ष लिम्बु भन्छन्। अघिल्लो आर्थिक वर्षमा गुफासम्म गोरेटो बाटो बनाउन ७ नम्बर वडाबाट ५० हजार रुपैयाँ विनियोजन गरेको भए पनि त्यसपछि बजेटको निरन्तरता नपाएको उनी बताउँछन्।
वडा नं. ७ का वडाध्यक्ष लक्ष्मण तामाङले गुफाको संरक्षण र प्रवर्द्धनका लागि पहल भइरहेको बताउँदै भन्नुभयो, “चमेरे गुफा हाम्रो वडाको गहना हो, यसलाई पर्यटकीय गन्तव्य बनाउने योजना छ। तर बजेट अभावले बाटो निर्माण गर्न सकेका छैनौँ।”
यस वर्ष सिदिङवा गाउँपालिकाले चमेरे गुफाका लागि कुनै बजेट विनियोजन नगरेको जानकारी पनि वडाध्यक्ष तामाङले दिनुभयो।





