फालेलुङ, पाँचथर ।
पाँचथरको फालेलुङ–५, प्राङबुङ डाँडागाउँमा भदौ १३ गते भएको बिस्फोटमा ज्यान गुमाएका र घाइते भएका परिवारलाई तीन संस्थाले संयुक्तरूपमा आर्थिक सहयोग हस्तान्तरण गरेका छन्।

Pasupati Ayurvedic
Nepalitheme

फालेलुङ कञ्चनजङ्घा पर्यापर्यटन संस्था, दीप ज्योति युवा क्लब र फालेलुङ सेवा समाजले सोमबार घटनास्थलमै पुगेर पीडित परिवारलाई ३ लाख ४२ हजार ९ सय ५६ रुपैयाँ हस्तान्तरण गरेका हुन्।

फालेलुङ सेवा समाजका कोषाध्यक्ष माया केरुङका अनुसार मृतकका परिवारलाई जनही १ लाख ७१ हजार ४ सय ७८ रुपैयाँ र घाइते भएका दुईजनालाई ८५ हजार ७ सय ३९ रुपैयाँका दरले प्रदान गरिएको छ।

ऊनको स्वीटर टेजर

हस्तान्तरण कार्यक्रममा फालेलुङ–५ का वडाध्यक्ष भरतकुमार खपाङ्गी, दीप ज्योति युवा क्लबका कार्यकारी निर्देशक सुनिल बान्तावा, फालेलुङ कञ्चनजङ्घा पर्यापर्यटन संस्थाका अध्यक्ष शिल्प साम्पाङ, फालेलुङ सेवा समाजका अध्यक्ष सुवास राई, कालिका मावी प्राङ्बुङका प्रधानाध्यापक किशोर गौतम, सचिव सन्तोष जबेगु, कोोोषाध्यक्ष माया केरुङ, सहकोषाध्यक्ष बुद्ध केरुङ र सुशील राईलगायत स्थानीय प्रतिनिधिहरूको उपस्थिति थियो।

भदौ १३ गते अपराह्न ३ बजे आइतराज केरुङको घरमा खेल्ने क्रममा भएको बिस्फोटमा परी ११ वर्षीय दिप्शन सावा र अढाई वर्षीया पृन्शा सावा गम्भीर घाइते भएका थिए। झापामा उपचारका क्रममा दुवैको मृत्यु भएको थियो। मृतक दुवै एकै परिवारका हुन्। उनीहरूका बुबा दिलीप सावा वैदेशिक रोजगारका क्रममा विदेशमा रहेका थिए भने आमा पूजा सावा आफ्ना सन्तान गुमाउनुपरेको पीडामा छिन्।

बिस्फोटबाट १२ वर्षीय पवन राई र ७ वर्षीय दिप्शन राई घाइते भएका थिए। घाइते दुवैको काठमाडौंको वान अस्पतालमा उपचारपछि स्वास्थ्य सुधार भई हाल गाउँ फर्किएको छ।

मृतकका आमा पूजा सावाले सरकारबाट कुनै सहयोग प्राप्त नभएको गुनासो गर्दै विभिन्न संघसंस्था र राजनैतिक दलबाटमात्र सहयोग पाएको बताइन्। “मेरो कोख रितियो, श्रीमान विदेशमा हुनुहुन्छ। सरकार कहाँ छ?” भन्दै आँसु खसालिन्।

फालेलुङ सेवा समाजका अध्यक्ष सुवास राईका अनुसार २०७८ सालदेखि स्थापना भएको समाजले कोभिड–१९ महामारीका बेला स्वास्थ्य सामग्री वितरणदेखि विभिन्न प्राकृतिक विपद् पीडितलाई सहयोग गर्दै आएको छ। फालेलुङ कञ्चनजङ्घा पर्यापर्यटन संस्थाले पर्यटन प्रवर्द्धन र सामाजिक काममा योगदान पुर्याउँदै आएको छ भने दीप ज्योति युवा क्लबले सामाजिक सेवा र दुर्लभ वन्यजन्तु रेडपाण्डाको संरक्षणमा काम गर्दै आएको छ।

दीप ज्योति युवा क्लबका कार्यकारी निर्देशक सुनिल बान्तावाले मृतकका आमालाई सहानुभूति र घाइतेलाई शीघ्र स्वास्थ्यलाभको शुभकामना व्यक्त गर्दै स्थानीयको सहभागिताले सहयोग सम्भव भएको बताए।

यस आर्थिक सहयोग पहलका लागि देशविदेशमा सक्रिय युवाहरूको महत्वपूर्ण योगदान रहेको फालेलुङ सेवा समाजका उपाध्यक्ष मंगल केरुङले बताए।

 

प्रतिक्रिया

Pasupati Ayurvedic

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय