
फिदिम। भक्तपुर क्यान्सर अस्पतालको प्राविधिक सहयोग र फिदिम नगरपालिकाको आर्थिक सहयोगमा सम्पन्न दुई दिने स्तन तथा पाठेघर क्यान्सर स्क्रिनिङ शिविरमा १,५२६ जना महिलाले सेवा लिएका छन्।
जिल्ला अस्पताल फिदिममा जेठ ९ र १० गते सञ्चालन गरिएको शिविरमा पाँचथरसहित ताप्लेजुङ र तेह्रथुमका महिलाहरूको उल्लेख्य सहभागिता रह्यो। शिविरमा भक्तपुर क्यान्सर अस्पतालका वरिष्ठ क्यान्सर विशेषज्ञ डा. उज्ज्वल चालिसे नेतृत्वको १८ सदस्यीय टोलीले परीक्षण सेवा दिएको थियो
फिदिम नगरपालिका स्वास्थ्य प्रमुख ॐ प्रकाश यादवका अनुसार ताप्लेजुङबाट ६७ जना र तेह्रथुमबाट १०० भन्दा बढी महिलाले शिविरमा सहभागीता जनाएका थिए। शिविरमा भिडियो एक्स–रे, अल्ट्रासाउन्डलगायतका प्रविधिमार्फत स्तन र पाठेघर क्यान्सर परीक्षण गरिएको थियो।

डा. चालिसेका अनुसार परीक्षणमा सहभागीमध्ये ७० प्रतिशत महिलामा पाठेघरको मुखमा घाउ, सेतो पानी बग्ने र चिलाउने समस्या देखिएको छ। शिविरपछि २४ जना महिलालाई थप उपचार तथा शल्यक्रियाको लागि जिल्ला बाहिर रेफर गरिएको जानकारी उनले दिए।
फिदिम नगरपालिका स्वास्थ्य प्रमुख यादवले ३१ जना महिलामा पाठेघरसम्बन्धी गम्भीर समस्या देखिएको जनाए। नर्सिङ प्रमुख लक्ष्मी श्रेष्ठका अनुसार पछिल्लो समय महिलाहरू खुलस्त स्वास्थ्य परीक्षणमा सहभागी नहुन सक्ने अवस्था रहे पनि यसपटकको शिविरमा २६ जना अविवाहित महिलाले स्तन र पाठेघर परीक्षण गराएको उल्लेख गरिन्।
शिविरमा परीक्षण गराइएका सबै महिलाहरूको नतिजा आगामी दुई हप्ताभित्र फिदिम नगरपालिकाको स्वास्थ्य शाखामा उपलब्ध गराइनेछ। परीक्षणमा क्यान्सर देखिएमा नगरपालिकाले उनीहरूलाई अस्पतालसम्म आवत–जावतको खर्चसमेत व्यहोर्ने उपप्रमुख राधाकृष्ण न्यौपानेले जानकारी दिए।
उपप्रमुख न्यौपानेले ग्रामीण भेगका महिलाहरूलाई समयमै स्वास्थ्य परीक्षणको अवसर उपलब्ध गराउनु ठूलो उपलब्धि भएको बताए। “कतिपयले भन्छन्, विकास निर्माणको बजेट घटाएर भए पनि यस्ता शिविर आवश्यक छन्। स्वास्थ्य नै पहिलो प्राथमिकता हो,” उनले भने।
नगर प्रमुख मित्र काफ्लेले गत वर्ष पनि यस्तो शिविरमा ९८४ जना महिलाले पाठेघरको स्क्रिनिङ गराएको र ३६ जनामा क्यान्सरको सम्भावित लक्षण भेटिएकाले यसपटक पुनः शिविर सञ्चालन गरिएको बताए।
शिविर आयोजना गर्न महत्वपूर्ण भूमिका खेलेका पत्रकार कबिन्द्र शेर्मालाई समेत नगर प्रमुख काफ्लेले विशेष धन्यवाद व्यक्त गरे। हाल क्यान्सरको उपचारमा रहेका शेर्माले भने, “म जस्तै अरूलाई क्यान्सर नहोस्, समयमै परीक्षण गरेर बाँच्न सकिन्छ भन्ने सन्देश दिन चाहन्छु।”