
पाँचथर।
पाँचथरको फिदिमस्थित जिल्ला अस्पतालमा महिलाहरूका लागि लक्षित नि:शुल्क स्तन तथा पाठेघर क्यान्सर परीक्षण शिविर सुरु गरिएको छ। फिदिम नगरपालिकाको सहयोग र भक्तपुर क्यान्सर अस्पतालको प्राविधिक सहयोगमा संचालन गरिएको दुईदिने शिविर शुक्रबार (जेठ ९ गते) बिहान ८ बजेबाट सुरु भएको हो।
फिदिम नगरपालिकाका उपप्रमुख राधाकृष्ण न्यौपानेले शिविर जेठ ९ र १० गते सञ्चालन हुने जानकारी दिनुभयो। नगरप्रमुख मित्रप्रसाद काफ्लेले यो शिविर ग्रामीण क्षेत्रका महिलाहरूका लागि निकै उपयोगी हुने बताउनुभयो। उहाँले नगरपालिकाले यसअघि पनि विभिन्न रोगसम्बन्धी नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको जानकारी दिनुभयो।

नगरप्रमुख काफ्लेका अनुसार जिल्लाभरबाट दुई हजारभन्दा बढी महिलाले शिविरमा स्वास्थ्य परीक्षण गराउने अपेक्षा गरिएको छ।
शिविरमा भक्तपुर क्यान्सर अस्पतालका निमित्त निर्देशक उज्ज्वल चालिसेको नेतृत्वमा १८ जना क्यान्सर विशेषज्ञ चिकित्सकहरूको टोली परिचालन गरिएको छ। डा. चालिसेले शिविरमा आएका सबै सेवाग्राहीलाई सेवा दिइने जानकारी दिनुभयो। उहाँले क्यान्सर देखिएका बिरामीलाई नि:शुल्क औषधि र उपचार प्रक्रिया सुरु गरिने तथा अन्यलाई सामान्य स्वास्थ्य परीक्षण गरिने बताउनुभयो।
नगरप्रमुख काफ्लेले यो महत्त्वपूर्ण शिविर सञ्चालनमा पत्रकार कबिन्द्र शेर्माको योगदान विशेष उल्लेख गर्नुभयो। लामो समयदेखि क्यान्सरसँग लडिरहेका शेर्मा हाल भक्तपुर क्यान्सर अस्पतालमा उपचाररत छन्। केही समयअघि घाटीमा क्यान्सर देखिएपछि उपचार गराइरहनुभएका शेर्मालाई हाल हड्डीमा समेत क्यान्सर देखिएको छ।
पत्रकार शेर्माले आफैंको अनुभव सुनाउँदै भने, “म जस्तै अरू कोही क्यान्सरबाट नपिडून् भन्ने उद्देश्यले समयमा नै परीक्षण गर्न प्रेरित गर्न यो पहल गरिएको हो। समयमै परीक्षण गरियो भने क्यान्सरबाट बच्न सकिन्छ।”
शुक्रबार बिहान आयोजित विशेष कार्यक्रममा फिदिम नगरप्रमुख मित्रप्रसाद काफ्लेले शिविरको औपचारिक उद्घाटन गर्नुभएको थियो।