ताप्लेजुङ । पाथीभरा क्षेत्र विकास समितिले पाथीभरा मन्दिर जाने तीर्थयात्रीहरूको सुविधाका लागि शौचालय निर्माण तथा व्यवस्थापनलाई तीव्रता दिएको छ।

Nepalitheme

समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङका अनुसार माथिल्लो फेदीदेखि मन्दिरसम्मको पदमार्गमा चारवटा स्थानमा शौचालय निर्माण गरिएका छन्। करिब ८४ लाख रुपैयाँको लागतमा निर्माण भएका यी शौचालयमा प्रत्येक स्थानमा चार कोठा र कुल १६ वटा प्यान रहेको छ। दर्शनार्थीहरूको सहजताका लागि पाथीभराको भेटीमार्फत शौचालय निर्माण गरिएको समितिले जनाएको छ।

पाथीभरा मन्दिर क्षेत्रका कर्मचारी प्रमुख राजेन्द्र महतका अनुसार चन्द्रमा ढुङ्गाको छेउमा १८ लाख रुपैयाँ र ठुलो घण्टी रहेको स्थानभन्दा करिब ५० मिटर तल २४ लाख रुपैयाँको लागतमा शौचालय निर्माण कार्य पूरा भएको छ। त्यस्तै, हरियो पाटी नजिक २० लाख र रमिते चौतारी छेउमा २२ लाख रुपैयाँको लागतमा निर्माण कार्य जारी रहेको छ, जसको करिब ८० प्रतिशत काम सम्पन्न भइसकेको छ।

समितिले पुराना शौचालयहरूको पुनर्निर्माण तथा मर्मतसमेत गरेको छ। करिब ६ लाख रुपैयाँ खर्च गरेर फुटेका ढोका, उप्किएको स्थल, चुकुल मर्मतजस्ता कार्य सम्पन्न गरिएका छन्। निर्माण सम्पन्न भएपछि नियमित सरसफाइ तथा व्यवस्थापनका लागि कर्मचारी परिचालन गरिने कार्यकारी निर्देशक हाङबाङले जानकारी दिनुभयो।

शौचालयहरूमा पानीको उपलब्धता सुनिश्चित गर्न फाइबर ट्रष्ट प्रविधिमार्फत पानी संकलन गरी ड्रममा भण्डारण गर्ने व्यवस्था गरिएको छ। हिउँ पग्लेर आउने पानीलाई जस्ताको पाताबाट मगरामार्फत ड्रममा जम्मा गर्ने प्रविधि अपनाइएको छ, जसका लागि करिब २० लाख रुपैयाँ खर्च भएको छ।

हरेक स्थानमा एक हजार लिटर क्षमताका चार वटा ड्रम राखेर नियमित पानी आपूर्तिको योजना अघि बढाइएको छ। दीर्घकालीन रूपमा पानीको व्यवस्थापनका लागि थप अध्ययन सुरु भइसकेको र आगामी आर्थिक वर्षबाट आवश्यक कार्य अघि बढाइने समितिले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय