
पाँचथर, फिदिम । पाँचथरको फिदिम नगरपालिका–२ बाट प्रतिबन्धित लागुऔषध खैरो हेरोइनसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार फिदिम–२ स्थित एक घरमा लागुऔषधको कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा आइतबार साँझ छापा मारिएको थियो। छापाको क्रममा ३ ग्राम ५१० मिलिग्राम खैरो हेरोइनसहित पाँच जनालाई नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ।
प्रहरीका सूचना अधिकारी ख्यमराज घिमिरेका अनुसार पक्राउ परेकाहरूको नाम अनुसन्धान प्रभावित नहोस् भन्ने उद्देश्यले सार्वजनिक गरिएको छैन। उनीहरूलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी थप अनुसन्धान थालिएको जानकारी घिमिरेले दिनुभयो।
