
पाँचथर।
विकासवादी नेता तथा पूर्वमन्त्री स्वर्गीय पद्मसुन्दर लावतीको १०औँ स्मृति दिवस मंगलबार पाँचथरको फिदिममा विविध कार्यक्रमका साथ मनाइएको छ।
पद्मसुन्दर लावती प्रतिष्ठानको आयोजनामा फिदिम–४ स्थित गढियकमा रहेको प्रतिष्ठानको कार्यालयमा आयोजित कार्यक्रममा विभिन्न सामाजिक अगुवा, प्रतिष्ठानका पदाधिकारी तथा पत्रकारहरू सहभागी थिए। कार्यक्रममा स्व. लावतीको तस्बिरमा माल्यार्पण गर्दै श्रद्धाञ्जली अर्पण गरिएको थियो।
कार्यक्रमकै अवसरमा प्रतिष्ठानले हालैको बाढी–पहिरोबाट प्रभावित फालेलुङ गाउँपालिका क्षेत्रका सामुदायिक विद्यालयमा अध्ययनरत गरिब, जेहेन्दार तथा यसै शैक्षिक सत्रमा एसईई परीक्षा दिएका खसआर्य, जनजाति, महिला र दलित समुदायका चार जना विद्यार्थीलाई प्रतिव्यक्ति रु १० हजारका दरले छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेको छ।

त्यस्तै, स्मृति दिवसकै सन्दर्भमा जिल्ला अस्पताल पाँचथरमा उपचाररत बिरामीहरूलाई फलफूल वितरण गरिएको प्रतिष्ठानका सल्लाहकार होमकुमार लावतीले जानकारी दिनुभयो।
स्मृति दिवसकै दिन फिदिममा रहेको पद्मसुन्दर लावतीको शालिक तथा उहाँको जन्मथलो यासकस्थित शालिकमा दीप प्रज्वलन र माल्यार्पण कार्यक्रम सम्पन्न भएको प्रतिष्ठानले जनाएको छ।
वि.सं. १९९६ साल साउन ७ गते पाँचथरको यासक भदौरेमा जन्मिनुभएका लावतीको २०७१ साल असार २७ गते निधन भएको थियो। वि.सं. २०२१ सालमा यासक गाउँपञ्चायतबाट राजनीतिक जीवनको सुरुवात गर्नुभएका लावती स्वास्थ्य, गृह, सामान्य प्रशासन, उद्योग, सञ्चार, भूमि सुधार तथा कृषि मन्त्रालयको जिम्मेवारी समेत सम्हाल्नुभएको थियो।
उहाँले संसद सदस्यका रूपमा पटक–पटक निर्वाचित भई वि.सं. २०५२ सालसम्म मन्त्री पदमा रही सेवा गर्नुभएको थियो। पाँचथरमा वि.सं. २०३२ सालदेखि जनश्रमदानमार्फत मेचीराजमार्ग निर्माण, विद्युत विस्तार, पाँचथर अस्पताल तथा क्याम्पस स्थापना, खाद्य संस्थान तथा अन्य सरकारी कार्यालय स्थापनामा उहाँको उल्लेखनीय योगदान रहेको प्रतिष्ठानका सचिव लोकेन्द्र आलेमगरले जानकारी दिनुभयो।
राँके–रवि–भेरेटार सडक ट्याक खोल्ने, तमोर करिडोरको सम्भाव्यता अध्ययन गराउने, सरकारी कार्यालयहरू फिदिममा केन्द्रित गराउने, स्वास्थ्यचौकी, प्रहरी चौकी, बैंक, सिचाइ कुलो, खानेपानी आयोजना तथा विद्यालय भवन निर्माणमा उहाँको अग्रणी भूमिका रहेको सामाजिक अभियन्ताहरूले बताएका छन्।
स्व. लावतीको योगदानको स्मरण गर्दै उहाँको नाममा स्थापना गरिएको प्रतिष्ठानले सामाजिक कार्यका लागि अक्षयकोष स्थापना गरी आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।
तस्विरहरु-–