
पाँचथर।
फिदिम स्पोर्टिङ क्लबले ११औँ संस्करणको फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको आय-व्यय विवरण सार्वजनिक गरेको छ। बिहीबार भानु मार्गस्थित क्लबको कार्यालयमा पत्रकार सम्मेलन गर्दै क्लबले प्रतियोगिताको आर्थिक विवरण प्रस्तुत गरेको हो।
क्लबका अध्यक्ष दिपेन्द्र थापा मगरका अनुसार प्रतियोगितामा कबोल गरिएको सम्पूर्ण रकम संकलन भएमा क्लबलाई कुल ७ लाख ५७ हजार ७७१ रुपैयाँ नाफा हुने देखिन्छ। गत पुष ६ देखि १५ गतेसम्म सञ्चालन भएको प्रतियोगिताबाट कुल ८० लाख २९ हजार १५३ रुपैयाँ आम्दानी भएको थियो। त्यसमध्ये ७९ लाख ३ हजार १०२ रुपैयाँ खर्च भइसकेको क्लबले जानकारी दिएको छ।

हाल क्लबको खातामा १ लाख २६ हजार ५१ रुपैयाँ मौज्दात रहेको छ भने विभिन्न संघसंस्था तथा दाताहरूले कबोल गरेको ८ लाख ६७ हजार १०९ रुपैयाँ अझै संकलन गर्न बाँकी छ। त्यस्तै, क्लबले २ लाख ३५ हजार ३८९ रुपैयाँ तिर्नुपर्ने बाँकी रहेको क्लबका महासचिव पासाङ तामाङले जानकारी दिए।
अध्यक्ष थापा मगरका अनुसार कबोल गरिएको रकम संकलन प्रक्रियामा ढिलाइ भएकै कारण प्रतियोगिताको आय-व्यय विवरण सार्वजनिक गर्न केही समय लागेको हो।