
फिदिम।
पेन्सन बञ्चित शिक्षक समूह फिदिम नगर कमिटीको अध्यक्षमा सूर्य ज्योति नेम्बाङ चयन भएका छन्। शिक्षक बञ्चित शिक्षक समूह कोशी प्रदेशका अध्यक्ष हेम केलाङ जवेगुको प्रमुख आतिथ्यमा सम्पन्न भेलाले वरिष्ठ उपाध्यक्षमा ललिता कुमारी गुरुङ, उपाध्यक्षहरूमा विश्व तुम्बापो, रिता तुम्बापो, पदम भट्टराई, सचिवमा जीवन गौतम, सहसचिवहरूमा विशाल राई, सीता कुमारी बेघा, लक्ष्मी दाहाल, पदम मेयाङवा, कोषाध्यक्षमा सुनिता कार्की, सह-कोषाध्यक्षमा नयन तुम्बापो चयन गरेको छ।
यसैगरी, सदस्यहरूमा त्रिलोचन भट्टराई, बलबहादुर दुलाल, विमला गई, सुमन भण्डारी, दौपदा अधिकारी, कैलास गुरुङ, अर्जुन थापा मगर, भरत जवेगु, नदिय राई, धनकुमार राई, आशा सम्बाहाम्फे, विपी लावती, अनिल अधिकारी, केवल चापागाई, रत्नकुमार गुरुङसहित २५ सदस्यीय समिति चयन गरेको छ।
नेपाल सरकारले २०८१ साल पौष २९ गते ल्याएको अध्यादेशले २०७५ साल चैत्र ४ गते पछिका शिक्षकहरूलाई विभेद गरी पेन्सन नदिने निर्णय गर्न लागेको भन्दै यस्तो विभेदकारी निर्णयको विरुद्ध आन्दोलन गर्नु पर्ने बाध्यता रहेकाले संघर्ष समिति गठन गरिएको पेन्सन बञ्चित शिक्षक समूहका जिल्ला अध्यक्ष ईश्वरी भण्डारीले जानकारी दिए। पाँचथर जिल्लाका ८ वटा पालिकामध्ये ३ वटा पालिकामा मात्र समिति गठन गर्न बाँकी रहेको र ती पालिकामा पनि चाँडै समिति गठन गर्ने तयारी भइरहेको बताइएको छ।
पेन्सन बञ्चित शिक्षक समूहको सो भेलामा नेपाल शिक्षक महासंघ जिल्ला समितिका सह-अध्यक्ष लक्ष्मण बाँस्कोटा, नेपाल शिक्षक महासंघ फिदिम नगर कमिटी अध्यक्ष हरिकृष्ण मिश्र, नेपाल शिक्षक संघ फिदिम नगर कमिटी अध्यक्ष सहदेव आचार्य, एकीकृत अखिल नेपाल शिक्षक संगठन फिदिम नगर कमिटी अध्यक्ष राम प्रसाद बाँस्कोटा, नेपाल राष्ट्रिय शिक्षक संगठन फिदिम नगर कमिटी अध्यक्ष चन्द्र प्रकाश सुनारले एउटै शिक्षा ऐन तथा नियमावलीअनुसार नियुक्त भएका शिक्षकहरूलाई विभेद गरी २०७५ चैत्र ४ गतेपछि नियुक्त शिक्षकहरूलाई पेन्सन नदिने गरी ल्याइएको अध्यादेश सरकारको गलत निर्णय रहेको भन्दै त्यसको विरोध गरे। उनीहरूले कानून संशोधन गरी नयाँ शिक्षा ऐन आउनु अघि नियुक्त शिक्षकहरूलाई पेन्सन दिनुपर्नेमा जोड दिँदै विद्यालयमा रहेका अस्थायी, करार, राहत, विद्यालय कर्मचारी, वालविकास सहजकर्ता लगायतका माग मुद्दाका विषयमा २०८० साल असोज ४ र १२ गते नेपाल सरकार र आन्दोलनरत पक्षबीच भएका २२ बुँदे सहमति अक्षरसः पालना गर्नुपर्ने बताए।
भेलामा पेन्सन बञ्चित शिक्षक समूह फिदिमका संयोजक विपी लावतीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पेन्सन बञ्चित शिक्षक समूह कोशी प्रदेश कमिटी सदस्य राजेन्द्र राई, जिल्ला सचिव विर बहादुर थाम्सुहाङ लगायतले मन्तव्य राखेका थिए। शिक्षक प्रकाश चापागाईंले सञ्चालन गरेको कार्यक्रममा नवनिर्वाचित नगर अध्यक्ष सूर्य ज्योति नेम्बाङले पेन्सन बञ्चित शिक्षकहरूको हक अधिकारका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै समितिलाई सबैको साथ र सहयोग रहने विश्वास व्यक्त गरे।