
फिदिम, पाँचथर।
पाँचथर जिल्ला सहकारी संघ लिमिटेडको आयोजनामा फिदिम-७, रानीटारमा सहकारी क्षेत्रमा देखा परेका समस्या तथा समाधानका उपायहरूबारे खोजी गर्न अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रम दुई चरणमा सम्पन्न भयो। उद्घाटन सत्रमा फिदिम नगरपालिका वडा नं. ७ की वडा सदस्य भीमा कुमारी दुलाल बाँस्कोटाले व्यानर पढेर कार्यक्रमको उद्घाटन गरेकी थिइन्। पाँचथर जिल्ला सहकारी संघका उपाध्यक्ष मणिराज भण्डारीले कार्यक्रमको सहजीकरण गरेका थिए।
कार्यक्रममा कालिका कृषि सहकारी संस्था र पंचकन्या बचत तथा ऋण सहकारी संस्थाका पदाधिकारी, संचालक तथा लेखा समितिका संयोजक एवं सदस्यहरूले हालको सहकारी क्षेत्रका समस्याहरू राखेका थिए।
मुख्य छलफलका बिषयहरू:
- सहकारी संस्थाहरूमा देखिएका नीतिगत समस्या समाधानका लागि फिदिम नगरपालिका, जिल्ला सहकारी संघ, विषयगत जिल्ला संघ र स्थानीय वडासँग समन्वय गर्ने।
- लेखापरीक्षण समयमै गर्ने र आवश्यक विनियम संशोधन गर्ने।
- ऋण उठाउने प्रक्रिया प्रभावकारी बनाउन कानुनी उपाय अपनाउने।
- सहकारी शिक्षा तथा आवश्यक तालिम कार्यक्रम सञ्चालन गर्न नगरपालिका र जिल्ला संघसँग अनुरोध गर्ने।
- संस्थाका कार्यविधिहरू समयमा नै बनाउने।
पाँचथर जिल्ला सहकारी संघले फिदिम ३, ७ र ८ का सहकारी संचालक तथा लेखा समिति संयोजक एवं सदस्यहरूको लागि यो कार्यक्रम आयोजना गरेको थियो। तर, वडा नं. ७ का मात्र दुई सहकारी संस्थाका संचालक तथा लेखा समितिका सदस्य गरी २५ जना सहभागी भएका थिए।
कार्यक्रमको समापन फिदिम नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष रुपेन्द्र तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न भयो। समापन सत्रमा प्रमुख अतिथि तामाङ र विशेष अतिथि वडा सदस्य भीमा कुमारी दुलाल बाँस्कोटाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। संघका उपाध्यक्ष रामप्रसाद बाँस्कोटाले कार्यक्रम सञ्चालन गरेका थिए।
संघका अध्यक्ष रेणु प्रसाद ओझाका अनुसार पाँचथर जिल्लाका सबै पालिकाहरूमा यस्ता कार्यक्रम निरन्तर सञ्चालन गरिँदैछ, जसले सहकारी संस्थाहरूलाई समस्या समाधान गर्न सहयोग पुर्याउने विश्वास गरिएको छ।
कार्यक्रममा कालिका कृषि सहकारी संस्थाका निवर्तमान अध्यक्ष ग्यनाथ बाँस्कोटा, वर्तमान अध्यक्ष पर्वत राई, पंचकन्या बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष कविन्द्र राज गुरुङ लगायतको उपस्थिति रहेको थियो।