
पाँचथर। नवीन चौहानको निर्देशनमा तयार भएको नेपाली चलचित्र ‘ऊनको स्वीटर’ आज (वैशाख २६) बाट देशभर प्रदर्शनमा आएको छ। पाँचथरको विभिन्न पर्यटकीय स्थलहरूमा छायांकन गरिएको यो चलचित्र जुनसुकै उमेर समूहले हेर्न सक्ने पारिवारिक र सांस्कृतिक कथामा आधारित छ।
विशेष गरी पाँचथरवासी दर्शकहरूमा चलचित्रप्रति विशेष चासो रहेको थियो। चलचित्रको छायांकन फालेलुङ–४ स्थित चारराते, नवमी डाँडा, सिलौटी, साधुटार, लब्रेकुटी, सुकेटार लगायत रमणीय स्थलहरूमा गरिएको हो।
चलचित्र पाँचथरको फिदिममा छाप्दीब्राही चलचित्र हलमा आज दिउँसो १ बजे र बेलुका ७ बजे दुई शोमा प्रदर्शन हुने लाइन प्रोड्युसर फुङ्सो जबेगूले जानकारी दिए।

जबेगूका अनुसार, करिब ३० वर्षअघिको संस्कृति, समाज र प्रेमकथालाई केन्द्रमा राखेर निर्माण गरिएको यो चलचित्रले बालबालिका, युवा र वृद्ध सबै उमेर समूहका दर्शकलाई आकर्षित गर्ने विश्वास गरिएको छ।
‘ऊनको स्वीटर’ चलचित्रले पाँचथरको पर्यटन, प्राकृतिक सौन्दर्य र संस्कृतिको प्रचार–प्रसारमा ठूलो योगदान पुर्याउने सम्भावना रहेको पनि जबेगूको भनाइ छ।
चलचित्रमा लोकप्रिय कलाकार बिपिन कार्की, मिरुना मगर, विल्सन विक्रम राई (तोक्मे बुढा), परिक्षा लिम्बू, मौन्से गुरुङ लगायतको अभिनय देख्न सकिन्छ। आर्टमन्डु प्रस्तुति रहेको यस चलचित्रका ‘फूल’ (स्वर: सुजन चापागाईं), ‘काफ्ले’ (स्वर: झुमा लिम्बू र सुजन चापागाईं) तथा ‘मखमली’ (स्वर: सुजन चापागाईं र सुनिता थेगिम) लगायतका गीतहरू दर्शकमाझ पहिले नै लोकप्रिय भइसकेका छन्।
चलचित्र टिमले देशभरका हलहरूमा ‘ऊनको स्वीटर’ हाउसफुल हुने अपेक्षा व्यक्त गरेको छ।