
फिदिम, पाँचथर।
ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा केवलकार खारेजीको माग गर्दै आह्वान गरिएको मेची राजमार्ग बन्दका कारण पूर्वी पहाडी जिल्लाको जनजीवन प्रभावित बनेको छ। मंगलबार बिहानदेखि सुरु भएको बन्दका कारण लामो तथा छोटो दुरीका सवारी साधन सञ्चालन ठप्प भएको छ।
बन्दको प्रत्यक्ष असर ताप्लेजुङ, पाँचथर, धनकुटा र इलामका जिल्लामा परेको छ। मेची राजमार्ग भएर चल्ने सवारी साधन झापामै रोकिएका छन् भने तमोर करिडोर धनकुटा मुल्घाटसमेत पूर्णरूपमा अवरुद्ध रहेको छ। पाँचथरको विभिन्न ठाउँमा आन्दोलनकारीहरूले मेची राजमार्ग र तमोर करिडोर आवागमन अवरुद्ध गरेका छन्।

किरात याक्थुङ चुम्लुङ पाँचथर जिल्ला अध्यक्ष सुरेन शिशिर केरुङका अनुसार मोटरसाइकलबाहेक सबै प्रकारका सवारी साधन रोक्न आन्दोलनकारीहरू सक्रिय छन्। पाँचथरको इलामसँग जोड्ने राके, तमोर करिडोरको सिवा दोबान, मेची राजमार्गको हेवाखोला र गणेश चोकजस्ता स्थानमा २०० भन्दा बढी प्रदर्शनकारी तैनाथ छन्।
मुक्कुम्लुङ संरक्षणका लागि केवलकार निर्माण रोक्नुपर्ने माग गर्दै स्थानीयहरूले आन्दोलन चर्काएका हुन्। उनीहरूले केवलकार खारेज र २०८१ माघ १२ गते सुरक्षा बलले स्थानीयमाथि चलाएको गोली प्रकरणको विरोधमा माघ १५ गतेदेखि अनिश्चितकालीन बन्द आह्वान गरेका हुन्।
मुक्कुम्लुङ बचाओ संघर्ष समितिसहित पाँच घटक संगठनहरूले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै आन्दोलनको घोषणा गरेका छन्। विज्ञप्तिमा मुक्कुम्लुङ संरक्षण संयुक्त संघर्ष समिति संयोजक श्रीप्रसाद लिम्बू, पाथीभरा केबलकार खारेजी संयुक्त संघर्ष समिति संयोजक खगेन्द्र फेम्बु, किरात याक्थुङ चुम्लुङ संघीय समिति संयोजक प्रेम येक्तेन, लिम्बू थरगत संस्था संयोजक नन्द कन्दङवा, र किरात धर्म साहित्य उत्थान संघका डकेन्द्र सि. थेगिमले हस्ताक्षर गरेका छन्।
विज्ञप्तिमा माघ १२ गते साँझ खाना खाइरहेका संरक्षणकारीमाथि सशस्त्र प्रहरीले बर्बर आक्रमण गर्दै गोली उल्लेख गरिएको छ। आन्दोलनकारीहरूले केवलकार परियोजना रोक्न र दोषी सुरक्षाकर्मीमाथि कारबाही गर्न सरकारलाई दबाब दिएका छन्।