
याङवरक, पाँचथर।
नेकपा माओवादी केन्द्र याङवरक गाउँपालिका कमिटिको दोस्रो अधिवेशनबाट सुर्यमान बेघा अध्यक्ष चयन भएका छन्।
माघ ६ गते पाँचथरको याङवरक च्याङ्थापुमा सम्पन्न अधिवेशनले अध्यक्षमा बेघा, उपाध्यक्षमा तेजु राई, रणबहादुर गुरुङ र सान्ती लक्सम, सचिवमा योगेन्द्र बेघा, सहसचिवमा राजु राई र कोषाध्यक्षमा अशोक राईलाई सर्वसम्मत रूपमा चयन गरेको हो।
अधिवेशनको प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा पाँचथर जिल्ला इन्चार्ज सीता थेवे थिइन्। बिशेष अतिथिका रूपमा जिल्ला संयोजक विशाल रसाइली, जिल्ला समन्वय समितिका सदस्यहरू र गाउँपालिका कमिटीका अन्य पदाधिकारीहरूको उपस्थिति रहेको थियो।
प्रमुख अतिथि थेवेले अधिवेशनलाई सम्बोधन गर्दै नयाँ पुस्ताले नेतृत्व लिनुपर्ने आवश्यकता औंल्याइन्। उनले भनिन्, “देशको राजनीतिक अवस्था कठिन रहेको बेला माओवादी पार्टीले जनताको दुःख र पीडामा साथ दिइरहेको छ। हामीले सडकमा रहेर जनताको आवाज उठाउँदै सरकारलाई जिम्मेवार बनाउनुपर्ने समय आएको छ।”
सहसचिव राजु राईका अनुसार अधिवेशनमा याङवरक गाउँपालिकाका सबै वडाबाट प्रतिनिधिहरू सहभागी भएका थिए।
अध्यक्ष बेघाको राजनीतिक यात्रा
सुर्यमान बेघा लामो समयदेखि नेकपा माओवादी केन्द्रका विभिन्न तहमा क्रियाशील छन्। २०६३ सालमा पार्टीको स्थानीय जिम्मेवारीबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका बेघाले २०६५ सालमा अखिल क्रान्तिकारी जिल्ला सदस्यको जिम्मेवारी पाए।
२०६९ सालमा अखिल क्रान्तिकारी जिल्ला उपाध्यक्ष बनेका बेघाले २०७२ सालमा अखिल क्रान्तिकारी जिल्ला अध्यक्षको पद सम्हाले। त्यसपछिको समयमा नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएपछि २०७६ सालमा अनेरास्ववियू पाँचथरका संयोजक बने।
२०७८ सालमा पार्टीको जिल्ला समन्वय समिति सदस्य बनेका उनले सोही वर्ष अखिल क्रान्तिकारी केन्द्रीय सदस्यको जिम्मेवारी पनि पाए। २०८० सालमा अखिल क्रान्तिकारी केन्द्रीय सचिवालय सदस्य र २०८१ सालमा याङवरक गाउँपालिका कमिटिको उपाध्यक्ष बने।
बेघाले विद्यार्थी जीवनदेखि नै माओवादी पार्टीको विभिन्न सहायक संगठनमा सक्रियता देखाउँदै आएका छन्। उनले २०८१ सालमा सम्पन्न दोस्रो अधिवेशनबाट अध्यक्षमा सर्वसम्मत रूपमा चयन हुनुअघि गाउँपालिकामा पार्टी संगठन बलियो बनाउने काममा नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए।
नयाँ जिम्मेवारी र प्रतिबद्धता
अध्यक्ष चयन भएपछि बेघाले गाउँपालिकाको जनतासँग प्रत्यक्ष जोडिएर समस्याहरू समाधान गर्न र पार्टीको नीति प्रभावकारी बनाउन काम गर्ने प्रतिबद्धता व्यक्त गरे। “गाउँपालिकामा रहेका जनताका दुःख र पीडा साटासाट गर्दै अगाडि बढ्नेछु,” उनले भने।
याङवरक गाउँपालिकाका जनताको समर्थन र विश्वासलाई कायम राख्दै माओवादी केन्द्रको मूल सिद्धान्तअनुसार कार्य गर्न नयाँ कार्यसमितिले प्रतिबद्धता जनाएको छ।