पाँचथर ।
अखिल नेपाल लेखक संघ पाँचथर जिल्लाको प्रथम अधिवेशनबाट मचिन्द्र लोवा अध्यक्ष पदमा चयन भएका छन्। शनिबार फिदिममा सम्पन्न अधिवेशनले लोवाको अध्यक्षतामा नयाँ जिल्ला कार्यसमिति गठन गरेको हो।
कार्यसमितिमा उपाध्यक्ष पूर्ण परिचित जबेगू, सचिव नितिज निराकुल आङ्बो, सह-सचिव विक्रम पारखी केरुङ, कोषाध्यक्ष बिनु केरुङ तथा सदस्यहरूमा रजनी हाङ्सरुम्वा, राजन खतिवडा, रिता मिश्र र सन्दीप लावती चयन भएका छन्।
कार्यक्रमको उद्घाटन नेकपा माओवादी केन्द्रका प्रदेश सचिवालय सदस्य तथा पाँचथर सह-इन्चार्ज दिनेश लावतीले गरेका थिए। विशेष अतिथि पार्टीका जिल्ला संयोजक विशाल रसाइली, फालेलुङ वाङ्मय प्रतिष्ठानका अध्यक्ष सुरेन शिशिर केरुङ, अखिल नेपाल लेखक संघका केन्द्रीय सदस्य सुनिल आङ्बो, अखिल क्रान्तिकारी प्रदेश कमिटीका अध्यक्ष चन्द्र माङ्मु, प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य विजयबोध लावती, वाइसीएल केन्द्रीय सदस्य मनिस आङ्बो, फिदिम नगरपालिका कमिटी अध्यक्ष देवी थापा मगरसहित अन्य नेताकार्यकर्ताको उपस्थिति रहेको थियो।
कार्यक्रममा वाङ्मय प्रतिष्ठानका अध्यक्ष सुरेन केरुङले आफ्नो छोटो कविता प्रस्तुत गर्दै शुभकामना व्यक्त गरे। प्रमुख अतिथि दिनेश लावती र विशेष अतिथि विशाल रसाइलीले संगठनलाई थप सशक्त बनाउँदै लेखक तथा साहित्यकारहरूको हकहित सुनिश्चित गर्न शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
अधिवेशनपछि बन्द सत्रबाट निर्वाचन सम्पन्न गरिएको थियो। निर्वाचन मण्डलका संयोजक सुनिल आङ्बो, सदस्य सचिव चन्द्र माङ्मु र सदस्य आकास मणि बराल थिए। यसअघि संगठनले तदर्थ समिति गठन गरेको थियो।
सचिव नितिज आङ्बोले सञ्चालन गरेको कार्यक्रममा अध्यक्षमा चयन भएका मचिन्द्र लोवाले जिल्लाभरका लेखकहरूलाई संगठित गर्दै संगठनलाई थप उचाइमा पुर्याउने प्रतिबद्धता जनाए। साथै, उनले छिट्टै स्मारिका प्रकाशन गर्ने योजना पनि प्रस्तुत गरे।
अखिल नेपाल लेखक संघ नेकपा माओवादी केन्द्रका लेखक, कवि तथा रचनाकारहरूको भातृ संगठन हो।