शंकर चापागाई, पाँचथर ।

Nepalitheme

पाँचथरको फिदिम नगरपालिका-१२ का दुई विद्यालयका विद्यार्थीलाई पोशाक तथा स्टेशनरी वितरण गरिएको छ। फिदिम-१२ नं. वडाको आ.व. २०८१/८२ को वार्षिक विकास कार्यक्रमअन्तर्गत ७६ जना विद्यार्थीलाई पोशाक तथा स्टेशनरी वितरण गरिएको हो।

संक्रान्ति आधारभूत विद्यालयका ३० र पञ्चमी आधारभूत विद्यालयका ४६ विद्यार्थीलाई गरी १ लाख २० हजार रुपैयाँ बराबरको सामग्री वितरण गरिएको वडा अध्यक्ष कमलप्रसाद चापागाईंले जानकारी दिनुभयो। पञ्चमी आधारभूत विद्यालयमा गत शुक्रबार र संक्रान्ति आधारभूत विद्यालयमा आज पोशाक तथा स्टेशनरी वितरण गरिएको हो।

संक्रान्ति आधारभूत विद्यालयमा आज आयोजित कार्यक्रममा वडा अध्यक्ष चापागाईंले शिक्षा सबै क्षेत्रको विकासको आधार भएकाले गत वर्षदेखि नै वडामा यो कार्यक्रम सुरु गरिएको बताउनुभयो। उहाँका अनुसार गत वर्ष बुधुक आधारभूत विद्यालयमा ७५ हजार रुपैयाँ बराबरको पोशाक तथा स्टेशनरी वितरण गरिएको थियो।

कार्यक्रममा बोल्दै अध्यक्ष चापागाईंले पोशाक तथा स्टेशनरी वितरणले विद्यार्थीको अध्ययनमा थप उत्साह सिर्जना गर्ने विश्वास व्यक्त गर्नुभयो। साथै, उहाँले आफ्नो तलब-भत्ताबाट तलब दिने गरी बुधुक आधारभूत विद्यालयमा शिक्षक नियुक्त गरेको स्मरण गर्दै सामुदायिक विद्यालयहरूको गुणस्तर अभिवृद्धिका लागि सबै पक्षको संलग्नता आवश्यक रहेको बताउनुभयो।

समाजसेवी रिन्जी शेर्पाले कार्यक्रमले विद्यार्थीको मनोबल बढाउन सहयोग पुर्‍याएको उल्लेख गर्दै अभिभावकलाई विद्यार्थीको नियमितता र अध्ययन वातावरण निर्माणमा ध्यान दिन आग्रह गर्नुभयो।

संक्रान्ति आधारभूत विद्यालयका प्रधानाध्यापक टंकप्रसाद चापागाईंले वडाको सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभयो। न्यानो पोशाक र स्टेशनरी पाएपछि विद्यार्थी र अभिभावक दुवै खुसी भएका छन्।

कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लाक्पा शेर्पाको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा व्यवस्थापन समितिका पदाधिकारी, अभिभावक, शिक्षक, विद्यार्थी तथा वडाका जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय