फिदिम, पाँचथर ।
यहीँ पुस ६ गतेदेखि १५ गतेसम्म सञ्चालन हुने ११औं संस्करणको फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ।
आयोजक फिदिम स्पोर्टिङ क्लबले सार्वजनिक गरेको तालिका अनुसार उद्घाटन खेलमा पुस ६ गते आयोजक फिदिम स्पोर्टिङ क्लबले करसाङ फुटबल क्लबसँग प्रतिश्पर्धा गर्नेछ।
प्रतियोगिताको दोस्रो दिन अर्थात् पुस ७ गते मछिन्द्र क्लब काठमाडौँ र झापा-११ बीच प्रतिस्पर्धा हुनेछ।
पुस ८ गते तेस्रो खेलमा फिदिम स्पोर्टिङ क्लब र करसाङबीचको विजेता टोलीले विभागीय टोली त्रिभुवन आर्मी क्लबसँग प्रतिस्पर्धा गर्नेछ। यस्तै, पुस ९ गते मछिन्द्र क्लब र झापा-११ को विजेताले न्यू स्टार क्लब सुनसरीसँग प्रतिस्पर्धा गर्नेछन्।
पुस १० गते चर्च ब्वाइज युनाइटेड क्लबले विराटनगर सिटी फुटबल क्लबको सामना गर्नेछ भने पुस ११ गते न्यूरोड टिम (एनआरटी) र सलहेश युथ क्लब सिराहा आमनेसामने हुनेछन्।
प्रतियोगिताको पहिलो सेमिफाइनल खेल पुस १२ गते र दोस्रो सेमिफाइनल खेल पुस १३ गते हुनेछ। फाइनल खेल पुस १५ गते हुनेछ। आयोजक फिदिम स्पोर्टिङ क्लबका महासचिव पासाङ तामाङले प्रतियोगिताका सबै खेल फिदिम माविको खेलमैदानमा हुने जानकारी दिए।
प्रतियोगिताको विजेता टोलीले नगद १० लाख रुपैयाँ र उपविजेता टोलीले नगद ५ लाख रुपैयाँ पुरस्कार पाउने आयोजक क्लबका अध्यक्ष दीपेन्द्र लुङगेली मगरले जानकारी दिए।
प्रतियोगितामा सहभागी टोलीहरूको उच्चस्तरीय खेल प्रदर्शनले फुटबलप्रेमीहरूलाई रोमाञ्चित बनाउने विश्वास लिइएको छ। फाल्गुनन्द गोल्डकपको यो संस्करणमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय टोलीहरूको उपस्थिति रहेको छ।