संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पुरातत्व अधिकृत पदमा कार्यरत लेखक र साहित्यकार भीष्म बाँस्कोटाको लोकलयमा लेखिएको पुस्तक नेपाल मण्डल (विश्व सम्पदा लोकमाला) को लोकार्पण गरिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेको प्रमुख आतिथ्यतामा उक्त पुस्तक शुक्रबार सार्वजनिक गरिएको हो।
पाटन दरवार संग्राहलय र टीका प्रकाश बाँस्कोटाले आयोजना गरेको लोकार्पण कार्यक्रममा वरिष्ठ इतिहासविद् प्रा. दिनेशराज पन्तले पुस्तकको समीक्षा गर्दै भने, “लोकलयमा लेखिएको यो पुस्तकमा नबुझिने या बुझिने कुराहरुलाई पनि गद्यमा टिप्पणी गरेर, ठूलो परिश्रमपूर्वक खुलाउनु भएको छ। नेपालको इतिहास र संस्कृतिको दृष्टिकोणबाट यो बिल्कुलै एक नौलो प्रयोग हो। त्यसैले लेखकलाई साधुवाद दिनै पर्छ।”
यस्तै, वरिष्ठ सञ्चारकर्मी र साहित्यकार डा. नवराज लम्सालले नेपाल मण्डल पुस्तकमा इतिहासलाई काव्य रसमा प्रस्तुत गरेर साहित्यिक क्षेत्रमा नयाँ थालनी गरिएको बताए। उनले मुनामदन छन्दको प्रयोग र काव्यात्मक प्रवाहको महत्व उल्लेख गर्दै भने, “नेपाली साहित्य परम्परामा लय हालेर सूचनालाई छन्दमा लेख्ने परम्परा हराउँदै गएको छ, तर यो पुस्तकले त्यसलाई जीवित राख्ने काम गरेको छ।”
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले नेपाल मण्डल लाई नेपालको मुटु रहेको भन्दै यसले सम्पदा, साहित्य र इतिहासको जगमा नेपाललाई समृद्धितिर लैजान महत्वपूर्ण योगदान गरेको बताए। “यो पुस्तकमा भौतिक र अभौतिक सम्पदाबारे चर्चा गरिएको छ। नेपालमण्डल देशको मुटु हो, र यसले हाम्रो इतिहास र संस्कृतिको जगेर्ना गर्दै सम्पदाको महत्व पहिचानमा भूमिका खेल्नेछ,” उनले भने।
मन्त्रालयका सहसचिव डा. सुरेश सुरस श्रेष्ठले लेखकलाई धन्यवाद दिँदै भने, “यो पुस्तक अहिलेको सन्दर्भमा संस्कृति, इतिहास र सम्पदा बुझ्न महत्त्वपूर्ण छ। लोकलयमा पठनपाठन गराउन सकेमा, हराउँदै गएको सभ्यतालाई पुनर्जीवित गर्न सकिन्छ।”
लेखक भीष्म बाँस्कोटाले इतिहास र संस्कृतिको विषय निरस बन्दै गइरहेको सन्दर्भमा लोकलयमा लेखिएको यस पुस्तकको महत्त्वपूर्ण योगदान रहेको विश्वास व्यक्त गरे। “मैले ऐतिहासिक र पुरातात्विक महत्वका सम्पदालाई सर्वसाधारणले बुझ्ने गरी लोकलयमा प्रस्तुत गरेको छु,” उनले भने। यो पुस्तक २०७६ सालमा लेख्न सुरु गरिएको हो र २०८१ मा तयार पारिएको हो। ३१२ पृष्ठ लामो यस पुस्तकको मूल्य रु. ९५० रहेको छ, जसको प्रकाशन लेखकका पिता टिकाप्रकाश बाँस्कोटाले गर्नुभएको छ। पुस्तकको आवरण डिजाइन राजेन्द्रराज वज्राचार्यले गरेका हुन्।
पुस्तकको लोकार्पण समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव डा. गणेशप्रसाद पाण्डे, पूर्वसचिव श्री कृष्णहरि बाँस्कोटा, यूवराज भूसाल, प्राज्ञ, प्राध्यापक, मन्त्रालयका सहसचिव, संस्कृतिविद्, इतिहासविद्, पुरातत्वविद्, संरक्षणविद्, वास्तुकलाविद्, शिक्षाविद्, सञ्चारकर्मी र अनुसन्धानकर्ता लगायत ८० जनाको सहभागीता रहेको थियो।