फाल्गुनन्द,पाँचथर।

फाल्गुनन्द गाउँपालिकामा यही चैत २५ गते आजदेखि सुरु हुने फाल्गुनन्द साहित्य महोत्सव २०८१ संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल प्रज्ञा प्रतिष्ठानका प्रथम कुलपति बैरागी काईलाद्वारा उद्घाटन गरिने भएको छ।

Nepalitheme

फाल्गुनन्द प्रज्ञा प्रतिष्ठानको आयोजनामा चैत २५ र २६ गते फाल्गुनन्द गाउँपालिकाको राँके बजारमा सञ्चालन हुने महोत्सवको कार्यक्रम तालिका सार्वजनिक गरिएको छ। फाल्गुनन्द गाउँपालिकाभित्र भाषा, साहित्य, वाङ्मय, कला तथा संस्कृतिको प्रवर्द्धन र संरक्षणका साथै पर्यटन, पूर्वाधार विकास र समृद्धि अभिवृद्धि गर्ने उद्देश्यले गत मंसिर महिनामा फाल्गुनन्द प्रज्ञा प्रतिष्ठान स्थापना गरिएको थियो। प्रतिष्ठानले पहिलो पटक साहित्य महोत्सव आयोजना गरेको कुलपति समदर्शी काईलाले जानकारी दिए।

साहित्य महोत्सवको प्रमुख अतिथि बैरागी काईलालाई नागरिक अभिनन्दन गरिनेछ। उनलाई सम्मानपत्र प्रदान गर्नुका साथै सांस्कृतिक झाँकीसहित राँके बजार परिक्रमा गराइने कार्यक्रम रहेको छ। महोत्सवको उद्घाटनसँगै ‘जीवनलाई पछाडि फर्केर हेर्दा’ विषयक विद्वत् सुभाषण बैरागी काईलाले प्रस्तुत गर्नेछन्।

ऊनको स्वीटर टेजर

महोत्सवको पहिलो दिन दिउँसो कविता कस्तो हुनुपर्छ भन्ने विषयमा प्यानल छलफल हुनेछ, जसमा प्रकाश थाम्सुहाङ, मुनराज शेर्मा, श्रवण मुकारुङ वक्ताका रूपमा सहभागी हुनेछन् भने सहजकर्ताको भूमिकामा सुन्दर कुरुप रहनेछन्। त्यसपछि पर्यटन, पर्यावरण र साहित्य विषयक कार्यपत्र देवेंद्र शक्तेनले प्रस्तुत गर्नेछन्। समृद्ध फाल्गुनन्द गाउँपालिका: कृषि, पर्यटन, पूर्वाधार विकास र शिक्षा भन्ने विषयमा पत्रकार दीपक बोहोराको सहजीकरणमा छलफल हुनेछ, जसमा वक्ताका रूपमा फाल्गुनन्द गाउँपालिका अध्यक्ष वृजहाङ आङदेम्बे, उपाध्यक्ष ठाकुरसिं नेम्बाङ र निवर्तमान उपाध्यक्ष देवित्रा कुमारी आङदेम्बे रहनेछन्। त्यसैगरी मातृभाषा पठनपाठनको सकस विषयमा छलफल हुनेछ, जसमा लालबहादुर सम्बाहाम्फे “अन्जान” को सहजकर्तामा प्राज्ञ हरिचन्द्र लावती, दिलेन्द्र कुरुम्बाङ र मलिसा याक्थुङ्वा वक्ताका रूपमा रहनेछन्। कृष्ण वरालको लिला लेखन सम्बन्धी कार्यपत्र प्रस्तुत गरिनेछ भने सांगीतिक प्रस्तुतिमा मनु नेम्बाङ र हिमालयन कल्चरल ब्याण्डले लोकभाका प्रस्तुत गर्नेछन्।

महोत्सवको दोस्रो दिन बिहान याक्थुङ साहित्यमा पहिचान विषयमा प्यानल छलफल हुनेछ, जसमा मधु केरुङ ‘केवाफुड’, लछामी शेर्मा पापो, डिगधोज लावती वक्ताका रूपमा रहनेछन् भने पुष्पहाङ लोवा सहजकर्ताको भूमिकामा रहनेछन्। धर्मेन्द्र विक्रम नेम्बाङद्वारा हरियो समाजवाद विषयक कार्यपत्र प्रस्तुत गरिनेछ। प्रमुख अतिथि बैरागी काईलाको हस्ताक्षरमा एल.बी. नेम्बाङद्वारा लिखित निबन्ध संग्रह विमोचन गरिनेछ भने लेखक नेम्बाङले आफ्नो कृतिबारे मन्तव्य दिनेछन्। त्यसपछि मलिसा याक्थुङ्वाले फाल्गुनन्द गाउँपालिकाभित्रका साहित्यकार र तिनका सिर्जनाहरु सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नेछिन्। हाङयुग अज्ञातद्वारा राजनीति र साहित्य विषयमा कार्यपत्र प्रस्तुत गरिनेछ भने पत्रकार युद्धबहादुर बोहोराको सहजीकरणमा राजनीति, निकास र देशको विकास विषयमा प्यानल छलफल हुनेछ, जसमा वक्ताका रूपमा निर्मल रिजाल, अईन्द्रसुन्दर नेम्बाङ र हर्कबहादुर नेम्बाङ “मिक्सो” रहनेछन्। सूर्य प्रकाश चेम्जोङद्वारा लिम्बू चलचित्रको वर्तमान अवस्था विषयमा कार्यपत्र प्रस्तुत गरिनेछ भने साहित्यकार वीर नेम्बाङद्वारा कविता वाचन गरिनेछ। दिउँसो विभिन्न चर्चित कवि, साहित्यकार तथा गजलकारद्वारा कविता तथा गजल वाचन गरिनेछ।

महोत्सवको अन्त्यतिर गीतकार एवं संगीतकार डा. लोचन रिजालद्वारा सांगितिक सुभाषण प्रस्तुत गरिनेछ। रिजाल अमेरिकाको मासाचुसेट्स युनिभर्सिटीबाट इथ्नोम्यूजिकोलोजीमा पीएचडी गर्ने नेपालका पहिलो इथ्नोम्यूजिकोलोजिस्ट तथा सांगीतिक सम्पदा राजदूत हुन्। उनको सांगीतिक प्रस्तुतिसँगै महोत्सव समापन गरिनेछ।

फाल्गुनन्द गाउँपालिकामा जन्मिएका चर्चित प्राज्ञिक व्यक्तित्वहरुको सहभागिता रहने यस महोत्सवले स्थानीय भाषा, साहित्य, कला र संस्कृति प्रवर्द्धन गर्ने तथा नयाँ पुस्तालाई सिर्जनात्मक यात्रामा प्रेरित गर्ने आयोजकको विश्वास छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय