फालेलुङ, पाँचथर । गत असोज ९ देखि १२ गतेसम्मको अविरल वर्षाका कारण फालेलुङ गाउँपालिकामा ठूलो जनधनको क्षति भएको छ। बाढीपहिरोले दुई जनाको मृत्यु, एक जनाको घाइते हुनुका साथै सयौंलाई विस्थापित बनाएको छ।

Nepalitheme

प्राकृतिक विपत्तिले फालेलुङ गाउँपालिकाका वडा नं. ६, ५, ४ र ३ मा व्यापक असर गरेको छ। पीडितहरुलाई राहत वितरणका लागि नेकपा माओवादी केन्द्रका जिल्ला समन्वय तथा प्रदेश कमिटी अध्यक्ष हर्कबहादुर नेम्वाङको पहलमा प्रभावित घरपरिवारलाई नगद सहायता प्रदान गरिएको हो।

पालिकाको वडा नं. ६ मा पूर्ण रूपमा क्षति भएका ८ घरलाई जनही ५ हजार रुपैयाँ, वडा नं. ५ मा ११ घरलाई ५ हजार रुपैयाँ, वडा नं. ४ मा पूर्ण क्षति भएका ७ घरलाई ५ हजार र आंशिक क्षति भएका ६ घरलाई ३ हजार रुपैयाँका दरले राहत वितरण गरिएको छ। वडा नं. ३ मा पूर्ण क्षति भएका ३ घरलाई ५ हजार रुपैयाँ सहयोग गरिएको पालिका कमिटी अध्यक्ष वृद्धिमान सावदेनले जानकारी दिए।

राहतको लागि अमेरिकामा रहेका माओवादी केन्द्रका शुभेच्छुक लक्ष्मी न्यौपानेबाट ५२ हजार, नरेश प्रशाइबाट ५० हजार र मिलन दुलालबाट ५० हजार रुपैयाँ सहयोग प्राप्त भएको थियो। सोही रकममार्फत राहत वितरण गरिएको अध्यक्ष नेम्वाङले बताए।

राहत वितरण मंसिर १७ र १८ गते वडा–वडामा गएर प्रदेश कमिटी अध्यक्ष नेम्वाङ, पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज सीता थेबे र पालिका कमिटीका अन्य पदाधिकारीहरूको उपस्थितिमा सम्पन्न भएको थियो।

यसअघि, मृतक परिवारलाई पार्टीका केन्द्रीय सदस्य तथा प्रदेश नं. १ का पूर्वमन्त्री इन्द्रबहादुर आङ्बोको उपस्थितिमा पनि राहत प्रदान गरिएको थियो।

मंसिर १८ गते फालेलुङ–४ गुरुङटारमा राहत वितरणसँगै माओवादी केन्द्रले पार्टी प्रशिक्षण कार्यक्रमसमेत आयोजना गरेको थियो। कार्यक्रममा नेपाली कांग्रेस परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका आधा दर्जन व्यक्तिलाई स्वागत गरियो।

प्रमुख अतिथि नेम्वाङले भर्खरै सम्पन्न उपनिर्वाचनको नतिजाले माओवादी केन्द्रलाई थप उत्साह प्रदान गरेको बताउँदै, सरकारमा मात्र सीमित नभई जनताको सुख–दुःखमा साथ दिने प्रतिवद्धता जनाए। साथै, उनले जनताको पीडालाई सरकारमा प्रभावकारी रूपमा उठाउने बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय