Nepalitheme

यासोक, पाँचथर

पाँचथरको यासोकमा आयोजित “कुम्मायक कुस्सायक त्रिशाली आमन्त्रण गोल्ड कप २०८१” फुटबल प्रतियोगिताबाट ७ लाख ५० हजार रुपैयाँ नाफा भएको छ।

आयोजक यलम्बर युथ क्लबले पत्रकार सम्मेलनमार्फत गत बैशाखमा सम्पन्न प्रतियोगिताको आय-व्यय विवरण सार्वजनिक गरेको हो।

पृथ्वीनारायण माविको खेल मैदानमा बैशाख १७ देखि २३ गतेसम्म सञ्चालन भएको प्रतियोगिताबाट कुल ३३ लाख ६४ हजार ७ सय ६५ रुपैयाँ आम्दानी भएको थियो। प्रतियोगिता सञ्चालन गर्दा २६ लाख १४ हजार ७ सय ६५ रुपैयाँ खर्च भएको क्लबका अध्यक्ष भीम नारायण लावतीले जानकारी दिए।

आम्दानीको मुख्य स्रोत

प्रतियोगिता सञ्चालनका लागि कुम्मायक गाउँपालिकाबाट ४ लाख ९१ हजार, विभिन्न दाताबाट १८ लाख २६ हजार २१०, सह-प्रायोजक क्षमादेवी कन्स्ट्रक्सन प्रा.लिबाट ३ लाख ५५ हजार ५५५, नागार्जुन भगवती जेभी प्रा.लि र गोर्खा ब्रोअरीबाट ५०/५० हजार, तथा गेट टिकट बिक्रीबाट ४ लाख ८५ हजार रुपैयाँ संकलन भएको थियो। साथै, क्लबको अघिल्लो मौज्दात रकम १ लाख ७ हजार पनि समावेश गरिएको थियो।

खर्च विवरण

खेलाडी भत्ता, ट्रफी, यातायात, होटल व्यवस्थापन, रेफ्री शुल्क, एन्फा दस्तुर, साउण्ड सिस्टम, सञ्चार खर्च, मैदान मर्मत, मेडिकल, खेल सामग्री, र उद्घाटन/समापन कार्यक्रममा गरी कुल २६ लाख १४ हजार ७ सय ६५ रुपैयाँ खर्च भएको क्लबले जनाएको छ।

स्थानीय खेलकुदको प्रवर्द्धनमा योगदान

आयोजक क्लबले प्रतियोगिताबाट संकलित नाफा आगामी वर्षको खेलकुद गतिविधि तथा यासोक क्षेत्रको खेलकुद विकासमा उपयोग गरिने जनाएको छ।

यस प्रतियोगिताले खेलकुदलाई प्रोत्साहन गर्नुका साथै क्षेत्रीयस्तरमा खेलाडीहरूको क्षमता अभिवृद्धिमा महत्त्वपूर्ण भूमिका खेलेको आयोजकहरूको भनाइ छ।

आयोजकको आयव्यय प्रतिबेदन –

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

ADVERTISEMENT
skip ads