आठराई, तेह्रथुम

Nepalitheme

आठराई सचेत नागरिक समाजले फोहोर व्यवस्थापनको समस्यालाई समाधान गर्न चाँडै डम्पिङ साइट निर्माण गर्नुपर्ने मागसहित आठराई गाउँपालिकालाई ध्यानाकर्षण पत्र बुझाएको छ।

बिहीबार पालिकाको कार्यालय सक्रान्तीमा समाजका अध्यक्ष तेजबहादुर इङ्नामले पालिका उपाध्यक्ष बलिराज इङ्नामलाई उक्त पत्र बुझाएका हुन्। अध्यक्ष इङ्नामका अनुसार ‘पालिकाको केन्द्र सक्रान्ती बजार उच्च भौगोलिक स्थानमा अवस्थित भएकाले जलधार र धार्मिक स्थलहरूमा फोहोर व्यवस्थापनको अभावले समस्या निम्त्याएको छ।’ प्रयोग भएका सिसाका बोतल र अन्य फोहोरको लापरबाहीले गर्दा वातावरणीय संकट बढिरहेको हुँदा चाँडै डम्पिङ साइट निर्माण गरी फोहोर व्यवस्थापन गर्नुपर्ने समाजको माग छ।

यसअघि पनि स्थानीयले फोहोर व्यवस्थापनको माग गर्दै पालिकालाई ज्ञापनपत्र बुझाएका थिए। तर, पालिका सरकारले ठोस कदम नचालेकोप्रति स्थानीयहरूको गुनासो छ। बजार क्षेत्रको फोहोरले तलका बस्तीहरूमा असर पुर्‍याइरहेकाले फोहोर नियन्त्रणमा चाँडो कदम चाल्नुपर्ने माग रहेको छ।

आठराई सचेत नागरिक समाजले यसअघि पनि फोहोर व्यवस्थापनका लागि विभिन्न कामहरू गर्दै आएको छ। प्लास्टिकजन्य पदार्थले वातावरणमा नकारात्मक प्रभाव पार्ने भएकाले समाजले ४ नम्बर वडा इवा र ५ नम्बर छात्तेढुङ्गामा फोहोर व्यवस्थापनका साथै चोकचोकमा डस्टबिन वितरण गर्ने कार्य गर्दै आएको छ।

पालिकाभित्र भ्रष्टाचार र अनियमितताविरुद्ध खबरदारी गर्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालय तेह्रथुममा दर्ता गरिएको समाजका सल्लाहकार सुमन हाङ्स्रोङले बताए। उनले प्लास्टिकजन्य पदार्थ र फोहोरले वातावरणमा प्रदूषण ल्याउने भएकाले यसलाई नियन्त्रण गर्न सके पर्यटन, समाज र धार्मिक क्षेत्रको सुन्दरता कायम रहनुका साथै आन्तरिक र बाह्य पर्यटन वृद्धि हुने विश्वास व्यक्त गरे।

ध्यानाकर्षण पत्रमा पालिकाका सबै वडाको फोहोर संकलन गरी जग्गा खरिदमार्फत डम्पिङ साइट निर्माण गर्नुपर्ने माग उल्लेख गरिएको छ।

पत्र—

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

ADVERTISEMENT
skip ads