
रानीटार।
पाँचथरको फिदिम–७, रानिटारस्थित पञ्चकन्या आधारभूत विद्यालयको खेल मैदानमा दीपावली तथा बलिहाङ तङनाम २०८१ को अवसरमा आयोजित दोस्रो सृजना कप नकआउट फुटबल प्रतियोगिताको उपाधि एम वाइ सी फुटबल क्लब, फिदिम–१३ फेजुङले हात पारेको छ।
फाइनल खेलमा एम वाइ सी क्लबले रानीटार युनाइटेड क्लब, फिदिम–७ रानीटारलाई २–१ गोलले पराजित गर्दै उपाधि जित्न सफल भएको हो। सृजना क्लब, फिदिम–७ माक्लुम्वा रानीटारको आयोजनामा गत कात्तिक ८ गतेबाट सुरु भएको प्रतियोगितामा इलाम र पाँचथर जिल्लाका गरी २५ टोलीको सहभागिता रहेको थियो।
समापन कार्यक्रमका प्रमुख अतिथि तथा फिदिम नगरपालिका वडा नं. ७ का वडा सदस्य प्रदिप बाँस्कोटाले विजेता टोलीलाई नगद रु. ५० हजार, कप, ट्रफी, र प्रमाणपत्र प्रदान गरे भने उपविजेता टोलीलाई नगद रु. २५ हजार, कप, ट्रफी, र प्रमाणपत्र वितरण गरिएको थियो। समापन समारोह आयोजक सृजना क्लबका अध्यक्ष रोमन नेम्बाङको अध्यक्षतामा सम्पन्न भएको हो।
प्रतियोगिताका विषयमा जानकारी गराउँदै आयोजक संस्थाका निवर्तमान अध्यक्ष सन्देश नेम्बाङले यस वर्षको सृजना कपमा उत्साहजनक सहभागिता रहेको र यस प्रतियोगिताले क्षेत्रीय खेलकुद प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।