
पाँचथर । नेपाल रेडक्रस सोसाइटी उपशाखा रानिटारको आज सम्पन्न पाँचौ अधिवेशनले पर्शुराम अधिकारीको अध्यतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेका छन् । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा पाँचथरका सभापति कृष्ण प्रसाद बास्कोटाको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनले उपसभापति भीमा कुमारी दुलाल, सचिव प्रकाश बाँस्कोटा, सहसचिव विरेन्द्र बाँस्कोटा, कोषाध्यक्ष बल बहादुर राई र उपकोषाध्यक्ष विनिता तामाङलाई निर्वाचित गरेको हो।
समिति सदस्यहरूमा ग्यनाथ बाँस्कोटा, भीम प्रसाद गुरुङ, डिप बहादुर नेम्बाङ, दिलकुमारी गुरुङ र भक्त बहादुर राई निर्वाचित भएका छन्। अधिवेशनमा शाखाका सचिव पर्शुराम अधिकारीले सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष ग्यनाथ बाँस्कोटाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए।
अधिवेशनको अवसरमा रानिटार शाखालाई ६ आना जग्गा निःशुल्क प्रदान गर्ने जग्गादाता ग्यनाथ अधिकारीलाई जिल्ला शाखा पाँचथर र उपशाखा रानिटारले सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरेका थिए। सम्मान जिल्ला शाखाका सभापति कृष्ण प्रसाद बाँस्कोटा र उपशाखा रानिटारका निवर्तमान सभापति भक्त बहादुर राईले प्रदान गरे।
अधिवेशनको उद्घाटन सत्र उपशाखा सभापति भक्त बहादुर राईको अध्यक्षतामा सम्पन्न भएको थियो। प्रमुख अतिथि कृष्ण प्रसाद बाँस्कोटा, उपसभापति लुना सुवेदी, फिदिम नगरपालिका वडा नं ७ का कार्यवाहक वडा अध्यक्ष तथा नव-निर्वाचित कोषाध्यक्ष बल बहादुर राईले शुभकामना मन्तव्य दिएका थिए। नव-निर्वाचित उपशाखा सभापति पर्शुराम अधिकारीले पनि आगामी कार्यकालको प्रतिवद्धता प्रस्तुत गरे।
अधिवेशनमा शाखाका मन्त्री आनन्द प्रसाद बाँस्कोटा, अधिकृत गुरुराज तिमल्सीना, कर्मचारी रमा चपागाइँ लगायतको उपस्थिति रहेको थियो। यस अवसरमा बाढीपहिरो पीडित फिदिम ७ का दिल्ली पाख्रिङ र कमल राईलाई जिल्ला शाखा र उपशाखाका पदाधिकारीहरूले राहत सामग्री वितरण समेत गरे।