आठराई।
तेह्रथुमको आठराई गाउँपालिकामा ‘आठराई सचेत नागरिक समाज’का युवाहरूले उदाहरणीय सामाजिक अभियान सुरु गरेका छन्, जसले युवाहरूमा सन्देशमूलक प्रेरणा पु¥याएको छ।
शुक्रबार वडा नम्बर ४ इवामा आयोजित एक विशेष कार्यक्रममा इवाको वडा कार्यालय, स्वास्थ्य कार्यालय, र बजार क्षेत्रमा प्लास्टिकजन्य फोहोर संकलन गरी जिम्मेवार तरिकाले व्यवस्थापन गरिएको छ।
यस महत्त्वपूर्ण अभियानको नेतृत्व गरेका समाजका उपाध्यक्ष अमर बिशुङ्खेले पालिका क्षेत्रभित्रका सबै वडामा यस्तै अभियान चलाउने योजना रहेको बताए। कार्यक्रममा ५० भन्दा बढी युवाको सक्रिय सहभागिता रहेको थियो, जसले आफ्नो समुदायप्रतिको जिम्मेवारीलाई गम्भीरताका साथ ग्रहण गरेको पुष्टि गर्दछ।
सक्रिय युवाहरूले वातावरण संरक्षणलाई मात्र ध्यान दिएको छैन, गाउँघरलाई स्वच्छ राख्न र अरूलाई पनि सचेतना फैलाउन सफल भएका छन्। युवा नेता सुशील कन्सङवाले यसलाई गाउँपालिकाको विकास र समाज सुधारतर्फको उदाहरणीय कदमको रूपमा व्याख्या गर्दै, यो अभियानले देशभरिका युवाहरूलाई प्रेरित गर्ने विश्वास व्यक्त गरे।
भर्खरै असोज १८ गते जिल्ला प्रशासन कार्यालय तेह्रथुममा दर्ता भएको यो संस्था भ्रष्टाचार, अनियमितता, र सामाजिक बिसङ्गतिहरू विरुद्ध खबरदारी गर्ने उद्देश्यले गठन भएको हो। संस्थाका अध्यक्ष तेजबहादुर इङ्नामले यसलाई मुनाफारहित, गैर-राजनीतिक र समाजसेवामा समर्पित संस्था बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
संस्थाको कार्यसमितिमा अध्यक्ष तेजबहादुर इङ्नाम, उपाध्यक्ष अमर बिशुङ्खे, सचिव घनश्याम ढुङ्गेल, कोषाध्यक्ष सान्ता लिम्बू लगायत ११ सदस्य रहेका छन्। कार्यक्रममा इवाका विभिन्न ठाउँहरूमा तीन वटा डस्टबिन राखिएको छ, जसले फोहोर व्यवस्थापनलाई थप व्यवस्थित बनाएको छ।
प्रेम कुमार तामाङका अनुसार युवाहरूको आवाज स्थानीय निर्वाचित जनप्रतिनिधिले नसुनेपछि यो संस्था स्थापना गरी अभियान सुरु गरिएको हो। उनी भन्छन्, “युवाहरूले सामाजिक रूपान्तरणका लागि देखाएको यो सक्रियता हामी सबैका लागि प्रेरणा हो।”
हर्षकुमार इङ्नामले यो अभियानले समाज मात्र होइन, देश-विदेशमा पनि चर्चा पाउने विश्वास व्यक्त गरे। उनले निर्वाचित जनप्रतिनिधिहरूले युवाहरूको यस कार्यमा निस्वार्थ सहयोग गर्नुपर्नेमा जोड दिए।
त्यस्तै, हाल रोजगारीको क्रममा दक्षिण कोरियामा रहेका सुमन हाङ्स्रोङले विगतदेखि नै समाजसेवामा सक्रिय रहँदै आएका छन्। उनले आठराईभित्रका असहाय र दुःखीहरूलाई सधैं सहयोग गर्दै आएका छन्। एकल महिला चमेली कनदङवाले हाङ्स्रोङलाई आफ्नो उद्धारकका रूपमा उल्लेख गरिन्, जसले आफ्नो घर निर्माणदेखि बिजुली बत्तीको व्यवस्था गरिदिएका थिए।
अभियानले युवा शक्तिलाई एकताबद्ध गर्दै, आठराई गाउँपालिकालाई भ्रष्टाचारमुक्त, पारदर्शी, र स्वच्छ बनाउन मद्दत पुर्याउने छ। यो प्रयासले देशभरिका युवाहरूलाई समाजको सुधार र समृद्धितर्फ लाग्न प्रेरित गर्ने विश्वास लिइएको हाङ्स्रोङको भनाई छ।
तस्विर–