पाँचथर ।
लगातार ६ वर्षको अवरोधपछि पाँचथरको ऐतिहासिक फाल्गुनन्द गोल्डकपको ११ औं संस्करण पुनः सुरु हुने भएको छ। शनिबार फिदिममा आयोजित पत्रकार सम्मेलनमार्फत फिदिम स्पोर्टिङ क्लबले पुस ६ गतेबाट प्रतियोगिता सञ्चालन गरिने जानकारी दिए।
प्रतियोगिता २०६५ सालमा १६ औं राष्ट्रिय विभूति फाल्गुनन्दको नाममा सुरु भएको थियो। यस प्रतियोगिताको दशौं संस्करण २०७५ सालको दशैंमा सम्पन्न भए तापनि कोभिड महामारीका कारण त्यसपछिका वर्षहरूमा प्रतियोगिता रोकिएको थियो। यस वर्ष ६ वर्षपछि ११ औं संस्करणको आयोजना गर्न लागिएको हो।
प्रतियोगिताका विजेताले नगद ५ लाख ५५ हजार र उपविजेताले २ लाख २५ हजार पुरस्कार पाउने आयोजकले घोषणा गरेको छ। त्यस्तै, उत्कृष्ट खेलाडीलाई एकथान मोटरसाइकल प्रदान गरिनेछ भने हरेक खेलको म्यान अफ दि म्याचले १० हजार नगद पुरस्कार पाउनेछन्।
फिदिम माध्यमिक विद्यालयको खेलमैदानमा आयोजना हुने प्रतियोगितामा ४ ए डिभिजन क्लबहरू, बि डिभिजनको बागमती युथ क्लब, आर.सि ३२, र झापा, मोरङ, सुनसरीलगायतका १० क्लबहरू सहभागी हुने अपेक्षा गरिएको छ। क्लबका अध्यक्ष दीपेन्द्र थापा मगरले ७३ लाख ७५ हजारको बजेटमा प्रतियोगिता सम्पन्न गरिने जानकारी दिए। प्रतियोगिताको फाइनल खेल पुस १५ गते हुने बताए।
२०७५ सालको दशैं संस्करणको उपाधि झापा ११ ले जितेको थियो। यसपटकको संस्करणले क्षेत्रीय फुटबलमा नयाँ ऊर्जा भर्ने र खेलकुदको क्षेत्रमा नवप्रवर्तन ल्याउने अपेक्षा गरिएको जानकारी दिए।
स्थानीय खेलाडी र क्लबहरूको महत्त्वपूर्ण मञ्च यस प्रतियोगितामा स्थानीय क्लब र खेलाडीहरूको सहभागिताले पाँचथर र आसपासका क्षेत्रका फुटबल खेलाडीहरूलाई महत्त्वपूर्ण मञ्च प्रदान गर्नेछ। आयोजकले प्रतियोगितालाई उच्चस्तरमा पुर्याउन विभिन्न तयारीहरू गरिरहेको बताए । जसले यसपटकको फाल्गुनन्द गोल्डकपलाई अझ प्रतिस्पर्धात्मक र रोमाञ्चक बनाउने विश्वास राखेको छ।
प्रतियोगिताको चुनौती र अवसर फिदिम स्पोर्टिङ क्लबले प्रतियोगिताको निरन्तरता गुमाउँदा धेरै चुनौतीहरूको सामना गर्नु परेको थियो। कोभिड महामारीपछि आर्थिक र व्यवस्थापकीय कठिनाइहरूका बाबजुद पनि प्रतियोगितालाई पुनः सञ्चालनमा ल्याउन क्लबले अथक प्रयास गरेको हो। स्थानीय प्रायोजकहरू र फुटबलप्रेमीहरूको समर्थनले यसपटकको संस्करणलाई सम्भव बनाएको बताए ।
प्रतियोगिताले खेलकुदमा लगानी बढाउने, नयाँ प्रतिभाहरू उजागर गर्ने र क्षेत्रीय फुटबलको विकासलाई नयाँ दिशामा लैजाने अपेक्षा गरिएको आयोजकले बताए।