ताप्लेजुङ।
ताप्लेजुङमा शनिबार सम्पन्न अन्तर्राष्ट्रिय रेडपाण्डा ट्रेल म्याराथनमा पाँचथरका विशाल राईले सर्वोत्कृष्ट उपाधि जित्दै १ लाख रुपैयाँको नगद पुरस्कार जित्न सफल हुनुभएको छ।
राईले यसअघि करिब ४,४०० मिटर उचाइमा सम्पन्न तिम्बुङ पोखरी ट्रेल रनमा पनि विजयी बनेर आफ्नो कौशल प्रमाणित गर्नुभएको थियो। यो पटकको म्याराथनमा सुरुआतदेखि अग्रपंक्तिमा रहेका राईले दौडको अन्तिम १०० मिटरमा बझाङका करण रावललाई पछि पार्दै पहिलो स्थान हासिल गर्नुभयो। समग्रमा दोस्रो स्थानमा रहेका रावल भने पुरुषतर्फ प्रथम स्थानमा रहन सफल हुनु भयो र नगद ५० हजार रुपैयाँ प्राप्त गर्नुभयो।
म्याराथन ४८ किलोमिटरको दुरीमा तय गरिएको थियो, जसले फुङलिङ बजारबाट सुरु भएर ३,७९४ मिटरको उचाइमा रहेको पाथीभरा मन्दिरसम्म पुगेर पुनः फुङलिङ बजारमा समाप्त थियो। ताप्लेजुङका रमेश लिम्बू तेस्रो स्थानमा रहँदै पुरुषतर्फ दोस्रो स्थानमा विजयी बनेर नगद ३० हजार रुपैयाँ जित्न सफल भए। यस्तै, सोलुखुम्बुका अर्जुन कुलुङ राई पुरुषतर्फ तेस्रो स्थानमा रहेर २० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नुभयो।
ताप्लेजुङ, पाँचथर, र इलामका स्थानीय धावकहरूका लागि छुट्टै पुरस्कारको व्यवस्था गरिएको थियो। प्रथम, दोस्रो, र तेस्रो हुने स्थानीय धावकहरूले क्रमशः १५, १० र ५ हजार रुपैयाँ नगद पुरस्कार जित्न सफल भएका छन्।
महिलातर्फ भने दौडको अन्तिम परिणाम आउन बाँकी रहेको छ।
रेडपाण्डालाई खेलकुदसँग जोड्ने उद्देश्यले आयोजित यस म्याराथन हिमाली संरक्षण मञ्चको आयोजना तथा रेडपाण्डा नेटवर्क, जिल्ला समन्वय समिति, फुङलिङ नगरपालिका, र पाथीभरा क्षेत्र विकास समितिको सहकार्यमा सम्पन्न भएको हो। म्याराथनमा कुल ५१ जना सहभागी थिए भने ५६ जनाले आवेदन दिएका थिए। प्रतियोगिता विश्व रेडपाण्डा संरक्षण दिवस (सेप्टेम्बर २१) को अवसरमा आयोजना गरिएको हो।