विराटनगर । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले तेस्रो पटक कोशी प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् ।

बुधबार प्रदेशसभामा भएको मत विभाजनमा कार्कीले प्रदेशसभाका ९३ सांसदमध्ये ६६ जनाको मत प्राप्त गरेका हुन् । जुन प्रदेशसभाको दुईतिहाई मत हो । कार्कीको विपक्षमा १५ मत खसेको छ भने २ जनाले मतदान गरेनन् ।

प्रदेशसभामा भएको मतदान प्रक्रियामा ८३ जना उपस्थित रहेका थिए । मुख्यमन्त्री कार्कीलाई एमालेका ३८ र नेपाली काँग्रेसका २८ जनाले विश्वासको मत दिएका छन् । काँग्रेसका भीम पराजुली भने मतदानमा अनुपस्थित थिए । सत्तापक्षमै बस्दै आएकी एक मात्र सांसद रहेको जसपा नेपालकी सांसद निर्मला लिम्बू पनि प्रदेशसभाको बैठकमा अनुपस्थित रहिन् ।

यस्तै कार्कीको विपक्षमा नेकपा माओवादी केन्द्र र राप्रपाले मत दिएका छन् । एकीकृत समाजवादी भने मत विभाजन प्रक्रियामा सहभागी भएन । यसअघि कार्कीले गत वैशाख ३१ गते प्रदेशसभाबाट विश्वासको मत लिएका थिए । नेकपा माओवादी केन्द्रका सांसदको समर्थनमा वैशाख २७ गते संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री नियुक्त भएका उनले त्यसबेला प्रदेशसभाका ५६ सांसदको समर्थन पाएका थिए ।

भदौ १४ गते नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि कार्कीले प्रदेशसभाबाट पुनः विश्वासको मत लिएका हुन् । माओवादी सरकारबाट बाहिरिएपछि कार्की सरकारमा नेपाली काँग्रेस सहभागी भएको छ ।

मुख्यमन्त्री बनेको १२९ दिनमा कार्कीले पुनः विश्वासको मत लिएका हुन् । केन्द्रमा गत असार १७ गते भएको काँग्रेस–एमालेबीच सहमति भएपछि कोशी प्रदेश सरकारबाट पनि माओवादी बाहिरिएको थिषे । सरकारमा सहभागी दलले समर्थन फिर्ता लिए ३० दिनभित्र विश्वासको मत दिनुपर्ने संवैधानिक व्यवस्था अनुसार कार्कीले विश्वसको मत लिएका हुन् ।

एमाले नेता कार्की पहिलो पटक २०७९ पुस २५ गते मुख्यमन्त्री बनेका थिए । उनले त्यसबेला २०७९ पुस २९ गते नै विश्वासको मत लिएका थिए । संविधानको धारा १६८ को उपधारा (२) अनुसार बनेको उक्त सरकारको पक्षमा एमाले, माओवादी, राप्रपा र जसपाका ५९ सांसदले विश्वसको मत दिएका थिए ।

केन्द्रमा सत्ता समीकरण फेरबदल हुँदै काँग्रेस, माओवादी, नेकपा एसलगायतको समीकरण बनेपछि कार्की नेतृत्वको सरकार २०८० असार १४ गते ढलेको थियो । उनले प्रदेशसभामा राखेको विश्वासको मत सम्बन्धि प्रस्तावमा ४६ मत मात्र परेपछि उनी पदमुक्त भएका थिए ।

कार्की पुनः उनी संविधानको धारा १६८ (३) अनुसार २०८० साल भदौ २२ गते दोस्रो पटक मुख्यमन्त्री बने । तर, विश्वासको मत पाउन नसक्ने देखिएपछि उनले २९ औं दिनमा पदबाट राजीनामा दिएका थिए ।

कार्की पदमुक्त भएपछि संविधानको धारा १६८ (५) अनुसार २०८० असोज २७ गते केदार कार्कीको नेतृत्वमा सरकार बनेको थियो । केदार कार्की नेतृत्वको सरकारलाई विस्थापित गर्दै पुनः हिक्मतकुमार कार्की २०८१ वैशाख २७ गते मुख्यमन्त्री नियुक्त भएका थिए । यसरी प्रदेशसभाको २ वर्षको अबधिमा कार्की ३ पटक मुख्यमन्त्री भएका छन् भने ३ पटक प्रदेशसभाबाट विश्वासको मत पाएका छन् ।

hamromat 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय