पाँचथर ।
पाँचथरको फिदिम नगरपालिका – ९ लुम्फाबुङमा ऐतिहासिक स्थलको संरक्षण र पर्यटन प्रवर्द्धनका लागि लावती चोलुङ पार्कको निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको छ। यस परियोजनामा संघीय, प्रदेश, र स्थानीय सरकारबाट बजेट सुनिश्चित गरिएको छ।
संघीय सरकारको ३० लाख रुपैयाँको लगानीले पार्कको सुन्दरतामा थप भएको छ। फिदिम नगरपालिकाले २९ लाख रुपैयाँ लगानी गर्दै भवन निर्माण सम्पन्न गरेको छ। प्रदेश सरकारको ५ लाख रुपैयाँको लगानीमा शौचालय निर्माण भइसकेको छ। यसै वर्ष प्रदेश सरकारले थप २० लाख रुपैयाँ विनियोजित गरेको छ। जसले, पार्कलाई आकर्षक बनाउन र प्राविधिक स्टमेटको कामलाई अगाडि बढाइएको वडा अध्यक्ष गंगा राइले जानकारी दिनु भयो।
लावती चोलुङ पार्कको निर्माण कार्य करिव १० रोपनी क्षेत्रफलमा भइरहेको छ र यसका लागि कुल २ करोड २० लाख रुपैयाँको लगानी अनुमान गरिएको छ। पार्कको पूर्वाधार विकासमा गंभिरहाङ लावतीले निःशुल्क जग्गा प्रदान गरेका छन्।
पार्कमा हालसम्म दस फिट उचाइको ढुङ्गाको चोलुङ (स्तम्भ) र पापोहाङ सामुदायिक भवन निर्माण गरिसकिएको छ। अवलोकन स्थल र पुर्खाको सालिक राखिने स्थान आगामी आर्थिक वर्षमा प्रदेशबाट बिनियोजन भएको रकमले सम्पन्न गरिनेछ।
स्थानीय सरकार र पार्क संरक्षण समिति लावती चोलुङ पार्कलाई नयाँ पर्यटक गन्तव्य स्थलको रूपमा विकास गर्ने प्रयासमा जुटेका छन्। स्थानीय नगर उप प्रमुख राधाकृष्ण न्यौपानेले सुन्दर र व्यवस्थित पार्क निर्माणमा स्थानीय सरकारको पूर्ण समर्पण रहेको बताएका छन्।
प्रदेश सभा सदस्य तथा पूर्व आर्थीक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले भने, “लावती चोलुङ पार्कलाई नयाँ गन्तव्य स्थलको रूपमा विकास गर्न तिनै तहको सरकारबाट लगानी गरिएको छ। फिदिम नगरको नयाँ पर्यटक गन्तव्य स्थल बनाउन बजेट सुनिश्चित गर्ने काम भइरहेको छ।”
पार्कको संरक्षण समिति संयोजक बालकृष्ण लावतीले भने, “हामीले दिएको निःशुल्क जग्गामा पूर्वाधार निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको छ। यसले लावती चोलुङलाई नयाँ पर्यटक गन्तव्यको रूपमा विकास गर्न ठूलो मद्दत पुर्याउनेछ।”