ताप्लेजुङ ।
आउँदो भदौ ३ देखि १० गतेसम्म सञ्चालन हुने अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकपको पुरस्कार राशी वृद्धि गरिएको छ। सदरमुकाम फुङ्लिङमा आयोजना हुने ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको पुरस्कार राशी यसवर्ष वृद्धि गरिएको हो।
प्रतियोगिता आयोजक लाखेजात्रा सञ्चालन समितिले मङ्गलबार पत्रकार सम्मेलन गर्दै यसवर्षदेखि पुरस्कार राशी वृद्धि गरिएको जनाएको छ। पुरस्कार राशी वृद्धि गरिएपछि यसवर्ष गोल्डकप विजेताले पाँच लाख ५५५ रुपियाँ नगद पाउने छ। यस्तै उपविजेताले दुई लाख ५० हजार ५५५ रुपियाँ नगद पुरस्कार प्राप्त गर्ने लाखेजात्रा सञ्चालन समितिका अध्यक्ष देवराज गुरुङले जानकारी दिनुभयो।
अध्यक्ष गुरुङका अनुसार यसअघि प्रथम पुरस्कार राशी तीन लाख ११ हजार १११ रुपियाँ रहेको थियो भने द्वितीय पुरस्कार एक लाख ११ हजार १११ रुपियाँ रहेको थियो। त्यस्तै यसवर्षदेखि विधागतअन्तर्गत प्रतियोगिता सर्वाेत्कृष्ट हुने खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट फरवार्ड, उत्कृष्ट गोलरक्षक, उदयीमान लगायतलाई पनि विगतमाभन्दा बढी पुरस्कार राशी प्रदान गर्ने निर्णय भएको समितिले जानकारी दिएको छ।
यता यसवर्षको प्रतियोगितामा स्थानीय सङ्घर्ष स्पोर्टिङ क्लब उकालीपानी, वाईवाई पाँचथर फुटबल क्लब, सगरमाथा स्पोर्टिङ क्बल मोरङले सहभागिता जनाउने भएका छन्। यसैगरी सलहेश युथ क्बल सिराहा, त्रिभुवन आर्मी क्लब काठमाडौँ, बुटवल लुम्बिनी एफसी र झापा–११ सहित आठ टोलीले प्रतियोगितामा सहभागिता जनाउने निश्चित भएको पनि समितिले जनाएको छ। समितिका अनुसार भारतको एक टोली सहभागी हुने छ।
विक्रम सम्बत् २०२९ सालदेखि प्रत्येक वर्ष लाखेजात्रा पर्वको असवरमा प्रतियोगिता सञ्चालन गरिँदै आएको छ। कञ्चनजङ्घा च्यालेन्ज कप, पाथीभरा गोल्डकप, हाल ताप्लेजुङ गोल्डकपसहित विभिन्न नाममा सञ्चालन हुँदै आएको प्रतियोगिता कोरोना महामारी (कोभिड–१९) को समयमा भने तीन वर्षसम्म सञ्चालन हुन सकेको थिएन।
यसैबीच यसवर्षको गोल्डकप अर्थात फुटबल प्रतियोगिता अवलोकन गर्ने दर्शकका लागि प्रवेश शुल्कसमेत निर्धारण गरिएको समितिले जनाएको छ। समितिका अध्यक्ष गुरुङका अनुसार प्रि–क्वार्टर फाइनलका लागि टिकट दर १०० रुपियाँ, सेमिफाइनलका लागि २०० र फाइनल खेल अवलोकन गर्नका लागि २५० रुपियाँ टिकट दर निर्धारण गरिएको छ। प्रतियोगिता सञ्चालनका लागि मिति तय भएसँगै तयारीलाई अगाडि बढाइएको लाखेजात्रा सञ्चालन समितिले जनाएको छ।
गोर्खापत्रबाट