पाँचथर। धेरै धान फलाउने कृषकलाई पुरस्कृत गरेर देश विदेशमा समेत चर्चित बनेको फाल्गुनन्द गाउँपालिकाले २१ औं धान दिवस मनाएको छ । किसानलाई हौसला दिदै बाँझो जमिनलाई प्रयोगमा ल्याउने,उत्पादन बढाउन साथै उनीहरुलाई प्रोत्साहनसहित पुरस्कृत गर्ने उदेश्यले धान दिवस मनाएको जनाएको छ । यस अघि १ नम्बर वडाको नवमीडाँडामा धान दिवश मनाउँदै ५० मुरी भन्दा बढी धान फलाउनेलाई ३० हजार र एक सय मुरी बढी फलाउनेलाई ५० हजार पुरस्कारको घोषणा गरेसंगै दिवश मनाउन शुरु गरेको हो । मापदण्ड पुगेका किसानलाई पालिकाले भव्य समारोहको आयोजना गरेर पालिका परिसरमा नौमती बाजासहित २९ जनालाई सम्मान गरेको थियो । सोही कार्यलाई निरन्तरता दिंदै यस वर्ष पनि ५ नम्बर वडास्थित घुमाउनेटार छेउको पुटानी बेंशीमा भव्यताका साथ दिवश मनाएको छ । स्थानीयबासीको बाक्लो उपस्थित रहेको रोपाईमा बच्चादेखि बुढापाका समेत हेर्न र काम गर्न आएका थिए ।
कृषि ज्ञान केन्द्र पाँचथरका प्रमुख महेश कुमार चौधारीसमेतको उपस्थितिमा पालिका अध्यक्ष बृजहाङ आङ्देम्बे,उपाध्यक्ष ठाकुरसिंह नेम्वाङ,प्रमुख प्रशासकिय अधिकृत निर्मल तुम्रोक,वडाध्यक्ष बिष्णुकुमार चेम्जोङ, नारायण प्रसाद आङ्देम्बे,योजना शाखा प्रमुख निर्मल अधिकारीलगायत पालिकाका सबै शाखाका कर्मचारीको सहभागिता थियो । यसैबीच,ज्ञान केन्द्रका प्रमुख चौधारीले पालिकाका जनप्रतिनिधिलाई कोदाली र फ्याउरी हस्तान्तरण गरेका थिए भने, अध्यक्ष आङ्देम्बे र उपाध्यक्ष नेम्वाङले रोपारलाई धानको बिउ प्रधान गर्दै रोपाईं कार्यक्रमको उद्घाटन गरिएको कार्यक्रम संचालक गोपाल घिमिरेले जानकारी दिए ।
नयाँ बुलन्दबाट