फालेलुङ।
पाँचथरको उच्च पहाडी भेग फालेलुङमा कुनै समय जीविकोपार्जनको प्रमुख आधार बनेको चौँरी–याक पालन आज राष्ट्रिय पहिचानको विषय बनेको छ। तर विडम्बना, यही परम्परागत पेशा पछिल्लो समय क्रमशः संकटतर्फ धकेलिँदै गएको छ।
करीब दुई दशकअघिसम्म फालेलुङ गाउँपालिकाको तीनसिमाना फालोट, नेपालटार, पासिभञ्ज्याङ र चारराते थोकुम क्षेत्र चौँरी गोठले भरिभराउ थिए। त्यतिबेला करिब ५० देखि ६० वटा गोठ सञ्चालनमा थिए। स्थानीय बासिन्दा तथा युवाहरू रोजगारीका लागि गोठालो बस्थे, चौँरी पालन जीवनयापनको भरपर्दो माध्यम थियो।

त्यो समय यातायातको सुविधा न्यून थियो। पाँचथरको सदरमुकाम फिदिमसम्म पनि यातायात सहज पहुँच थिएन। भारतको मानेभञ्ज्याङदेखि तीनसिमाना फालोटसम्म ब्रिटिसकालमै निर्माण गरिएको सडकमार्फत ल्यान्डरोभर गाडी चल्थे। त्याेबेला श्रीखोला, रिम्बिक र सिक्किमबाट खाद्यान्न तथा आवश्यक सामग्री ल्याउने काम गर्थे। स्थानीय जीवन त्यही व्यवस्थामा टिकेको थियो।
समयसँगै अवस्था बदलियो। नेपालतर्फ सडक सञ्जाल विस्तार भयो, राज्य संरचना परिवर्तन भई स्थानीय तह स्थापना भए। तर, विकाससँगै परम्परागत पेशाप्रति आकर्षण घट्दै गयो। गोठालो बस्न युवाहरू हिच्किचाउन थाले, वैदेशिक रोजगारीप्रतिको आकर्षण बढ्यो। परिणामस्वरूप, चौँरी गोठको संख्या घट्दै गयो।
याक–चौँरी कृषक महासंघ पाँचथरका अध्यक्ष चन्द्रलाल नेपाल (प्रमोद) का अनुसार हाल फालेलुङ क्षेत्रमा करिब ३० वटा गोठमा मात्र करिब ६५० याक–चौँरी पालिँदै आएका छन्।
उनका अनुसार राज्यको पर्याप्त संरक्षण अभाव, गोठालोको कमी, हिमाली क्षेत्रमा पशु बिरामी हुँदा उपचार कठिनाइ, र वैदेशिक रोजगारीप्रतिको बढ्दो आकर्षणजस्ता कारणले यो पेशा संकटमा परेको हो।
यद्यपि, यही संकटबीच संरक्षण र प्रवर्द्धनका प्रयासहरू पनि सुरु भएका छन्। २०७४ सालमा फालेलुङ–४ चाररातेमा एसियामै पहिलो पटक चौँरी महोत्सव आयोजना गरियो। त्यसयता २०८३ सालसम्म आइपुग्दा नौ पटक महोत्सव सम्पन्न भइसकेको छ। यसले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमै चर्चा पायो। 
यही महोत्सव र कृषकहरूको निरन्तर दबाबपछि नेपाल सरकारले वैशाख ७ गतेलाई “राष्ट्रिय याक दिवस” का रूपमा मनाउने निर्णय गरेको हो। यस वर्ष फालेलुङमा पनि पहिलो पटक तीनसिमाना फालोट क्षेत्रमा याक दिवस मनाइएको छ, जसको आयोजना गाउँपालिकाको पशुपन्छी विकास शाखा र स्थानीय कृषक समूहले गरेका थिए। 
कार्यक्रममा फालेलुङ गाउँपालिका उपाध्यक्ष महेन्द्र जबेगूले चौँरी बिरामी हुँदा निःशुल्क औषधि उपलब्ध गराउने र उत्कृष्ट व्यवसायीलाई प्रोत्साहन गर्ने नीति ल्याउने जानकारी दिए। साथै चरन क्षेत्र व्यवस्थापनका लागि राष्ट्रिय वन, कबुलियती वन र सामुदायिक वनसँग सहकार्य भइरहेको पनि उनले बताए।
नेपालको उच्च हिमाली क्षेत्रमा पाइने याक–चौँरी अहिले लोपोन्मुख अवस्थामा पुगेको दाबी गरिँदै आएको छ। पाँचथर, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, मुस्ताङ र इलामका उच्च भेग—३ हजारदेखि ४६ सय मिटर उचाइसम्म—यसका प्रमुख क्षेत्र हुन्। सीमित भौगोलिक क्षेत्रमा मात्र पाइने भएकाले यसको संरक्षण चुनौतीपूर्ण बन्दै गएको छ।
तथ्यांकहरूले पनि चिन्ताजनक चित्र देखाउँछन्। २०५० सालतिर नेपालमा करिब दुई लाखभन्दा बढी याक–चौँरी रहेकोमा २०७५ सालमा यो संख्या घटेर ७० हजारमा झर्यो। हालको सरकारी सर्वेक्षणअनुसार जम्मा ५४ हजार मात्र बाँकी छन्।
याक–चौँरी प्रवर्द्धनका लागि विभिन्न चरणमा पहल भएका छन्। २०७९ सालमा पोखरामा राष्ट्रिय स्तरको कृषक भेला सम्पन्न भयो। ICIMOD र पशुसेवा विभागको सहयोगमा २०८० साल असोज २२ गते काठमाडौंमा याक–चौँरी कृषक महासंघ विधिवत दर्ता गरिएको थियो।
इतिहासमा फर्किँदा, २०३० साल वैशाख ७ गते सोलुखुम्बुको स्याङ्बोचेमा याक आनुवांशिक स्रोत केन्द्र स्थापना भएको थियो। यही मितिलाई आधार मानेर सरकारले राष्ट्रिय याक दिवस घोषणा गरेको हो।
फालेलुङका पहाडमा कहिल्यै नअलपिने चौँरीका घण्टीको आवाज अहिले क्रमशः हराउँदै गएको छ। परम्परा, पहिचान र जीविकोपार्जनसँग जोडिएको यो पेशा जोगाउन राज्य, स्थानीय तह र समुदायबीच प्रभावकारी सहकार्य अपरिहार्य देखिन्छ।
नत्र, कुनै समय जीवनको आधार बनेको चौँरी गोठ अब इतिहासका पानामा मात्र सीमित हुने खतरा बढ्दो छ। 








