पाँचथर। पाँचथरको फालेलुङ गाउँपालिकाको उच्च क्षेत्र तथा छिमेकी राष्ट्र भारतसँग जोडिएको पर्यटकीय गन्तव्य तीनसिमानामा आगामी वैशाख ७ गते राष्ट्रिय याक दिवस २०८३ मनाइने भएको छ।

Nepalitheme
Pasupati Ayurvedic

नेपाल सरकारले प्रत्येक वर्ष वैशाख ७ गतेलाई “राष्ट्रिय याक दिवस” का रूपमा मनाउने निर्णय २०८१ साल असोजमा मन्त्रिपरिषद्बाट गरेको हो। सोही निर्णयअनुसार यस वर्ष पनि विभिन्न कार्यक्रमसहित दिवस मनाउन लागिएको हो।

इतिहासअनुसार २०३० साल वैशाख ७ गते सोलुखुम्बु जिल्लाको स्याङ्बोचेमा याक अनुसन्धान स्रोत केन्द्र स्थापना गरिएको थियो। सो केन्द्र स्थापनासँगै नेपालमा याक प्रवर्द्धन तथा खर्क सुधारका प्रयासहरू सुरु भएका थिए। त्यसबेला नेपालमा २ लाखभन्दा बढी याक–चौँरी रहेको अनुमान गरिए पनि २०७५ सालको तथ्यांकअनुसार यो संख्या घटेर करिब ५४ हजारमा सीमित भएको देखिन्छ।

ऊनको स्वीटर टेजर

याक–चौँरी संरक्षण तथा प्रवर्द्धनका लागि विभिन्न जिल्लामा कृषकहरू सक्रिय रहँदै आएका छन्। मुस्ताङ, सोलुखुम्बु र पाँचथरका कृषकहरूको पहलमा २०७९ साल जेठमा पोखरामा राष्ट्रिय भेला आयोजना गरिएको थियो। उक्त भेलामा इसिमोडको सहयोग तथा पशुपन्छी विकास शाखाको आयोजनामा याक–चौँरी कृषकहरू एकजुट भएका थिए।

त्यसैगरी, पाँचथरको फालेलुङ गाउँपालिका–४ चाररातेमा २०७४ सालदेखि नववर्षका अवसरमा चौँरी महोत्सव मनाउन सुरु गरिएको थियो, जसले याक–चौँरी प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याएको छ। पछि २०८० साल असोज २२ गते काठमाडौं जिल्ला प्रशासन कार्यालयमा याक–चौँरी कृषक महासंघ दर्ता गरिएको थियो।

महासंघ पाँचथरका अध्यक्ष तथा संस्थापक सचिव चन्द्रलाल नेपाल (प्रमोद) का अनुसार स्याङ्बोचेस्थित याक स्रोत केन्द्र स्थापना भएको दिनको सम्झनामा वैशाख ७ गतेलाई राष्ट्रिय याक दिवसका रूपमा मनाउने निर्णय गरिएको हो।

यस वर्ष तीनसिमानामा मनाइने दिवसका अवसरमा याक–चौँरी प्रदर्शनी, याकजन्य उत्पादनहरूको प्रदर्शनी, पशु स्वास्थ्य सेवा तथा औषधि वितरण लगायतका कार्यक्रमहरू आयोजना गरिनेछन्। कार्यक्रम फालेलुङ गाउँपालिका पशुपन्छी विकास शाखा थकेपुङको आयोजना तथा फालेलुङ चौँरी पालक कृषक समूहको समन्वयमा सञ्चालन हुने जनाइएको छ।

पछिल्लो समय याक–चौँरी पालन व्यवसाय लोपोन्मुख बन्दै गएको कृषकहरूको भनाइ छ। सरकारी स्तरबाट खर्क व्यवस्थापन, रोग नियन्त्रण तथा निःशुल्क औषधि उपलब्ध गराउन सकेमा यो व्यवसायबाट राम्रो आम्दानीसँगै रोजगारी सिर्जना गर्न सकिने उनीहरूको विश्वास छ।

प्रतिक्रिया

Pasupati Ayurvedic

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय