युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग ह्वाइटहाउसमा भेट हुनासाथ अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कुराकानीको आरम्भ नै पाहुनाको पोसाकबाट सुरु गरे।

Nepalitheme

“तपाईँ आज विशेष पोसाकमा हुनुहुन्छ,” जेलेन्स्कीलाई भेट्नासाथ ट्रम्पले भने। अमेरिकी राष्ट्रपतिलाई भेट्न पुगेका जेलेन्स्की युक्रेनी त्रिशूल अङ्कित सैन्य शैलीको कालो स्वेटशर्टमा ओभल अफिस पुगेका थिए।

सन् २०२२ मा आफ्नो देशमा रुसबाट पूर्ण स्तरको आक्रमण सुरु भएदेखि नै जेलेन्स्कीले सुट, टाँक भएका शर्ट र टाई लगाउन छाडेका छन्।

विश्व नेताहरूसँगको महत्त्वपूर्ण बैठकदेखि अमेरिकी कङ्ग्रेसमा सम्बोधनका लागि पुग्दा समेत उनी औपचारिक पोसाकमा देखिएनन्।

रुससँग जारी युद्धको अग्रपङ्क्तिमा लडिरहेका आफ्ना सैनिकहरूप्रति ऐक्यबद्धता दर्शाउन युक्रेनी राष्ट्रपतिले यस्तो पोसाक रोजेको बताउने गरेका छन्।

तर उनको यो पोसाकले युक्रेनलाई अमेरिकाले दिइरहेको सहायताको आलोचना गर्दै आएकाहरूलाई बिच्काएको छ।

अनि केही दक्षिणपन्थी आलोचकहरूबीच यो चर्चाको विषय पनि हुने गरेको छ।

शुक्रवार ह्वाइटहाउसको राष्ट्रपतीय कार्यकक्ष अर्थात् ओभल अफिसमा ट्रम्प र अमेरिकी उपराष्ट्रपति जेडी भान्ससँगको बैठकपछि यो विषयले विश्वको ध्यान तान्यो।

त्यहाँ उपस्थित बीबीसीका संवाददाताका अनुसार एकजना अमेरिकी पत्रकारले जेलेन्स्कीलाई सुट नलगाईकन भेटवार्ता कार्यक्रमको अपमान लगाएको प्रश्न गरेपछि त्यहाँको माहौल एकाएक बिग्रिएको थियो।

त्यसको केही समयमा त्यहाँ कृतज्ञता र सम्मानको विषयले प्रवेश पायो र अमेरिकी राष्ट्रपति तथा उपराष्ट्रपति र उनीहरूका युरोपेली सहयोगी देशका नेताबीच विश्वभरि प्रसारण हुने टेलिभिजन क्यामराहरूकै अगाडी चर्काचर्की भयो।

प्रश्न सोध्ने पत्रकार को थिए

भोलोदिमिर जेलेन्स्की र डोनल्ड ट्रम्प पत्रकार सम्मेलनअघि

बैठक जब पत्रकारहरूका लागि प्रश्न सोध्न खुला गरियो रिअल अमेरिकाज् भ्वाइस नामको परम्परावादी केबल नेटवर्कका प्रमुख ह्वाइटहाउस संवाददाता ब्रायन ग्लेनले एउटा प्रश्न गरे।

“तपाईँ किन सुट लगाउनु हुन्न?” ग्लेनको प्रश्न थियो। “तपाईँ यो देशको सबैभन्दा उच्च कार्यालयमा हुनुहुन्छ तर तपाईँले यहाँ आउँदा सुट लगाउन मान्नुभएन।”

“तपाईँसँग सुट त छ?” उनी रोकिएनन्। “यो कार्यालयको गरिमा नराखेको भनेर कैयौँ अमेरिकीहरूले तपाईँमाथि समस्या औँल्याएका छन्।”

त्यतिबेलासम्म ट्रम्पसँग कूटनीतिक, मैत्रीपूर्ण कुराकानी गरिरहेका जेलेन्स्की उक्त उत्तेजक प्रश्नपछि चिडिएको र थकित देखिए।

“यो युद्ध सकिएपछि म त्यस्ता पोसाकहरू लगाउँछु,” जेलेन्स्कीले जबाफ दिए। उनले त्यसपछि प्रश्न सोध्ने पत्रकारसँग चिढिए।

“हुनसक्छ तपाइँकोजस्तै लगाउन सक्छु वा त्यो भन्दा पनि राम्रो हुनसक्छ। मलाई थाहा छैन,” उनले भने।

जेलेन्स्कीले त्यसो भन्दा कोठामा हाँसो छायो। उनले फेरी थपे, “सस्तो पनि हुनसक्छ।”

ग्लेनको प्रश्नले विश्व राजनीतिमा लामो समय देखि दबिएको एउटा गुनासोलाई प्रस्फुटन गरिदियो।

अमेरिकी उपराष्ट्रपति जेडी भान्सजस्ता नेताहरू अमेरिकाले तीन वर्षदेखि जारी राखेको सैन्य सहयोगप्रति युक्रेनी राष्ट्रपति कृतज्ञ नदेखिएको तर्क गरिरहेका थिए।

प्रश्नकर्ता ट्रम्पकै प्रशंसक थिए

रिअल अमेरिकाज् भ्वाइस नामको कन्जर्भेटिक केबल नेटवर्कका प्रमुख ह्वाइट हाउस संवाददाता ब्रायन ग्लेन

तस्बिर स्रोत,Getty Images

प्रश्नकर्ता पत्रकार ग्लेन अमेरिकी परम्परावादी वृत्तमा परिचित व्यक्ति हुन्। उनी राइट साइड ब्रोडकास्टिङ नेटवर्क नामको स्थानीय च्यानलमा काम गर्दा देखि नै यो वृत्तमा चिनिएका थिए।

उनी ट्रम्पका प्रशंसक पनि हुन्।

गतवर्ष उनले अमेरिकी पत्रिका पोलिटिकोलाई “ट्रम्पको अमेरिका पहिलो नारामा आफ्नो शत प्रतिशत समर्थन” रहेको बताएका थिए।

उनले ट्रम्पकी प्रखर समर्थक जोर्जाकी सांसद मार्जोरी टेलर ग्रीससँग ‘डेट गरिरहेको’ दाबी गरिएको छ।

ग्लेन ह्वाइटहाउसको ‘प्रेस पुल’का रूपमा उक्त कोठामा पुगेका थिए।

‘प्रेस पुल’मा काम गर्ने पत्रकारहरूले राष्ट्रपतिका औपचारिक कार्यक्रमहरूमा धेरै सञ्चार माध्यमहरूका लागि समाचार सम्प्रेषण गर्छन्।

पत्रकारहरूको सङ्गठनबाट यस्ता पत्रकारहरू छानिएर आउने अभ्यास रहे तापनि ट्रम्प प्रशासनले गतसाता मात्रै “नयाँ आवाजहरूलाई” धेरै स्थान दिने भन्दै ‘प्रेस पुल’मा आफैँ पत्रकारहरू नियुक्त गरेको थियो।

सन् २०२० मा स्थापित रिअल अमेरिकाज् भ्वाइसलाई दक्षिणपन्थी समाचार गृह मानिन्छ।

हालैका वर्षहरूमा देखा परेका कैयौँ ट्रम्प समर्थक च्यानलहरू मध्ये यो पनि एक हो।

यसमा अन्तर्वार्ताका लागि बोलाइने अतिथि र विज्ञहरूले सन् २०२० को राष्ट्रपति चुनाव, सन् २०२१ को क्यापिटल दङ्गालगायत विभिन्न घटनाक्रमहरूलाई षड्यन्त्रको सिद्धान्तसँग जोडेर प्रचार गरेका छन्।

यो च्यानलका ‘शो’ हरूमा देखा पर्ने व्यक्तिहरू चर्चित अनुहारसम्म छन्।

जसमा ट्रम्पका पूर्व प्रमुख सल्लाहकार स्टीब ब्यानन, क्लासिक रकरबाट राजनीतिक अभियानकर्मी बनेका टेड नुजेन्ट र कन्जर्भेटिभ टर्निङ प्वाइन्टका संस्थापक चार्ली कर्क लगायत छन्।

बीबीसीले उक्त नेटवर्कलाई प्रतिक्रियाका लागि सम्पर्क गरेको छ।

ओभल अफिसमा भएको चर्काचर्कीपछि गलेनले अनलाइनमा एक पोस्ट गर्दै लेखेका छन्: “युक्रेनी जनताप्रति मेरो समानुभूति छ।”

उनले तर जेलेन्स्कीले सुट नलगाएका कारण अमेरिकाप्रति उनको “भित्री अनादर” प्रदर्शित गरेको तर्क गरेका छन्।

विन्स्टन चर्चिलको चर्चा

दोस्रो विश्वयुद्धको समयमा विन्स्टन चर्चिल

तस्बिर स्रोत,Central Press/Hulton Archive/Getty Images

जेलेन्स्कीका समर्थकहरूले दोस्रो विश्वयुद्धको समयमा विन्स्टन चर्चिलले अनौपचारिक पोसाक लगाएको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरिरहेका छन्।

उक्त समयको तस्बिरमा ती ब्रिटिश नेताले तत्कालीन अमेरिकी राष्ट्रपति फ्र्याङ्कलीन डि रुजभेल्टसँगको भेटमा जम्पसुट जस्तो देखिने पोसाक लगाएका छन्।

उनले द्वन्द्वको समयमा विश्व नेताहरूसँगको भेटमा पनि सैन्य पोसाक लगाएका थिए।

शुक्रवार राती ग्लेनको प्रश्नसँगै पत्रकार सम्मेलनको विषय अमेरिकाले युक्रेनलाई थप अस्त्र पठाउने वा नपठाउने भन्नेबारे अन्यत्रै मोडिएको थियो।

अनि अन्त्यमा ट्रम्पले फेरि सुटबारेकै प्रश्नमा जबाफ दिए।

“मलाई तपाईँको पोसाक मन पर्छ,” जिस्किँदै ट्रम्पले भने। अनि जेलेन्स्कीतर्फ औँल्याउँदै उनले भने, “मेरो विचारमा उहाँले राम्रो लुगा लगाउनु भएको छ।”

बाहिर सार्वजनिक नभएका पृष्ठभूमिमा ट्रम्पको मनोवृत्ति अलि फरक हुन सक्ने विवरण आएका छन्।

अमेरिकी समाचारगृह एक्सिओसले सार्वजनिक गरेको एक विवरण अनुसार ह्वाइटहाउसका कर्मचारीहरूले जेलेन्स्कीलाई सुट लगाउन अनुरोध गरेका थिए।

उनले त्यो आग्रह अस्वीकार गरेपछि उनीमाथि प्रहार भएको थियो।

तर पनि उपराष्ट्रपति जेडी भान्सले रोक्नुअघि नेताहरूको भेट असामान्य बहसमा प्रवेश गर्नु अघि करिब २० मिनेटसम्म दुई जना विश्व नेताहरूले करिब सौहार्दपूर्ण रूपमै प्रश्नहरूको जबाफ दिएका थिए।

भान्सले बारम्बार जेलेन्स्कीलाई “सम्मान”पूर्वक कुराकानी गर्न ध्यानाकर्षण गराएका थिए। युक्रेनका नेताले आफूलाई जेडी भनेर सम्बोधन गर्दा पनि भान्सले “श्री राष्ट्रपति” भनेका थिए।

अन्त्यतिर उनले भने: “ओभल अफिसमा आएर अमेरिकी सञ्चारमाध्यमका अगाडि यो बहसको प्रयास गर्नु तपाईँप्रति अनादर हुनसक्छ।”

त्यसपछि तातेको माहौल केही सेलाएको थियो। दुई देशबीचको सम्बन्ध अत्यन्तै चिसो बिन्दुमा पुगेसँगै सुट नलगाई पुगेका जेलेन्स्कीलाई केही बेरमै ह्वाइटहाउसबाट बाहिर जान भनियो।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुकइन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय