
फालेलुङ, पाँचथर ।
पाँचथरको फालेलुङ गाउँपालिका-३ ताङ्लेपामा महागुरु फाल्गुनन्द लिन्देङको १४० औं जन्म जयन्तीको अवसरमा फालेलुङ युथ क्लबले आयोजना गरेको खुल्ला पुरुष नकआउट फुटबल प्रतियोगिताको फाइनल याङ्वरक गाउँपालिका नागी बोझेनीले जितेको छ। कार्तिक २१ गतेदेखि सुरु भएको प्रतियोगिताको फाइनल खेल कार्तिक २६ गते सम्पन्न भएको हो।
फाइनल खेलअघि फालेलुङ ३ र २ का महिलाबीच मैत्रीपूर्ण खेल भएको थियो, जसमा फालेलुङ २ ले ट्राइबेकरमा फालेलुङ ३ लाई पराजित गर्दै ५ हजार नगद पुरस्कार जितेको आयोजकले जनाएको छ।

महागुरु फाल्गुनन्द लिन्देङको जन्म जयन्तीको विशेष कार्यक्रम कार्तिक २५ गते सम्पन्न भएको थियो। यस अवसरमा ताङ:सेपा माङ्हिममा पूजा पाठ गरिएको थियो भने औपचारिक कार्यक्रममा अतिथिहरूले लिङ्देनको तस्वीरमा माल्यार्पण गरेका थिए। सोही दिन विभिन्न जातजातिका सांस्कृतिक नृत्यहरू, जस्तै किरात राई समुदायको साकेला नाच, लिम्बू समुदायको च्याप्ब्रुन नाच र गुरुङ समुदायको सोरठी नृत्य प्रस्तुत गरिएको आयोजक सल्लाहकार चन्द्र लाओतीले जानकारी दिए।
फुटबल प्रतियोगितामा विभिन्न ठाउँका २० टिम सहभागी भएका थिए। फाइनलमा याङ्वरक नागी बोझेनीले आयोजक ‘बी’ टिमलाई ट्राइबेकरमा १ गोलले पराजित गर्दै उपाधि जितेको खेल संयोजक सुक्रराज केरुङले बताए। विजेता नागीले नगद ८० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे भने उपविजेता आयोजकले ५० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो। आयोजकका मदन जबेगु प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भए। त्यस्तै, आयोजकका सोमिङ लिम्बू उत्कृष्ट डिफेन्डर बने। नागी टिमका अमिर राई उत्कृष्ट गोलकिपर घोषित भए भने राजा लिम्बोले सर्वाधिक गोलकर्ताको ट्रफी जिते।
फाइनल खेलको समापन कार्यक्रममा प्रमुख अतिथि फालेलुङ गाउँपालिकाका पूर्व अध्यक्ष सन्च कुमार केरुङले विजेता र उपविजेतालाई पुरस्कार वितरण गरेका थिए। कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू र संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
फालेलुङ युथ क्लबले गत वर्षदेखि महागुरु फाल्गुनन्द लिन्देङको जन्म जयन्ती मनाउन थालेको क्लबका अध्यक्ष रबिन केरुङले जानकारी दिए।