पाँचथर।
पाँचथर जिल्ला एथलेटिक्स संघ पाँचथरले उत्कृष्ट प्रदर्शन र योगदानका आधारमा तीन जना धावकलाई सम्मान गरेको छ। फिदिम नगरपालिका–४ स्थित गढी माध्यमिक विद्यालयमा भएको सार्वजनिक कार्यक्रममा धावक पुष्पा सेर्मा, ओसन राई र इन्द्रमाया जवेगूलाई दोसल्ला र कदरपत्र प्रदान गरिएको हो।
सम्मानितमध्ये पुष्पा सेर्मा र ओसन राईले २०८१ सालमा सम्पन्न कोशी महोत्सवको ५ किलोमिटर दौडतर्फ रजत पदक हासिल गरेका थिए। त्यस्तै, संघकी जिल्ला सदस्यसमेत रहेकी धावक इन्द्रमाया जवेगूलाई जिल्लामा आयोजना हुने विभिन्न म्याराथन प्रतियोगितामा आर्थिक, भौतिक तथा नैतिक सहयोग पुर्याएको योगदानस्वरूप सम्मान गरिएको संघका जिल्ला अध्यक्ष पूर्णहाङ तुम्वापो (रेञ्जो)ले जानकारी दिए।

उनीहरूलाई प्रमुख अतिथिका रूपमा उपस्थित जिल्ला खेलकुद विकास समिति पाँचथरका अध्यक्ष सन्तोष सेर्माले दोसल्ला र कदरपत्र अर्पण गर्दै सम्मान गरेका थिए।
यसैबीच, एथलेटिक्स संघले आफ्नो तेस्रो बैठकमार्फत रिक्त रहेको जिल्ला सदस्य पदमा तितस राईलाई मनोनीत गरेको छ।
कार्यक्रमकै क्रममा गढी माध्यमिक विद्यालयमा अध्ययनरत २० जना छात्रछात्रालाई जाडो महिनामा उपयोगी न्यानो कपडा वितरण गरिएको छ। उक्त कपडा जिल्ला सदस्य इन्द्रमाया जवेगूको प्रायोजनमा उपलब्ध गराइएको संघले जनाएको छ।





