फिदिम, पाँचथर। गत वर्ष असोज १२ गतेको अविरल वर्षासँगै गएको पहिरोले फिदिम नगरपालिका–३ लालिखर्कस्थित स्वास्थ्य चौकी पूर्ण रूपमा बगाएपछि रोकिएको स्वास्थ्य सेवा करिब आठ महिनापछि पुनःसञ्चालनमा आएको छ। विश्व स्वास्थ्य संगठन (WHO) ले अस्थायी क्याम्प निर्माण गरी नगरपालिकालाई मेडिकल क्याम्प किट हस्तान्तरण गरेसँगै सेवा सुचारु भएको हो।

Nepalitheme
Pasupati Ayurvedic

बुधवार लालिखर्कमा आयोजित एक समारोहमा डब्लुएचओका नेपाल प्रतिनिधि डा. संभाजिराव पाण्डवले फिदिम नगरपालिकाका मेयर मित्रप्रसाद काफ्लेलाई क्याम्प हस्तान्तरण गरेका थिए। पहिरोले स्वास्थ्य चौकीको भवन, औषधि तथा विभिन्न उपकरण बगाएपछि सेवा अवरुद्ध भएको थियो। त्यसयता, नजिकको एक घरको कोठाबाट सीमित रूपमा सेवा प्रदान हुँदै आएको थियो।

डब्लुएचओले निर्माण गरेको क्याम्पबाट अहिले स्वास्थ्य चौकीमार्फत प्रदान गरिने सबै प्रकारका सेवा दिन सकिने जनाइएको छ। आपतकालीन अवस्थाबाट क्षति पुगेका स्थानमा डब्लुएचओले यस्ता अस्थायी संरचना निर्माण गरी सेवा सञ्चालनमा सहयोग गर्दै आएको छ।

ऊनको स्वीटर टेजर

विश्व स्वास्थ्य संगठनका बहुक्षेत्रीय समन्वयकर्ता सुदन ज्ञवालीका अनुसार, “तत्काल सेवा सञ्चालन गर्न निर्माण गरिएका यस्ता मेडिकल क्याम्प कम्तिमा दुई वर्षसम्म सञ्चालन गर्न सकिनेछन्।” उनले लालिखर्कसँगै काभ्रेको रोशी गाउँपालिकामा पनि यस्ता क्याम्प स्थापना गरिएको जानकारी दिए।

डब्लुएचओले नेपालमा वि.सं. २०७२ को विनाशकारी भूकम्पपछि यस्ता क्याम्प सञ्चालन गर्दै आएको छ। स्थानीय, प्रदेश र संघीय सरकारको सिफारिसमा क्याम्प स्थापना हुने गरेको डब्लुएचओले जनाएको छ।

क्याम्प सञ्चालनमा आएपछि स्थानीय बासिन्दाले सेवा लिन थालेका छन्। मेची राजमार्ग नजिकै भएकाले सवारी दुर्घटनाका बिरामीको संख्या बढी रहेको र प्राथमिक उपचारपछि गम्भीर अवस्थाका बिरामीलाई सदरमुकाम फिदिममा लैजान सकिने लालिखर्क स्वास्थ्य चौकीकी निमित्त प्रमुख ममता गुरुङले बताइन्।

स्थानीयवासी देवीप्रसाद राईले वर्षा सुरु हुनुअघि नै स्थायी तथा सुरक्षित स्थानमा नयाँ स्वास्थ्य चौकी भवन निर्माणको आवश्यकता औंल्याए। उनले भने, “फेरि पहिरोको जोखिम टार्न स्थायी र सुरक्षित संरचना निर्माण गर्नुपर्छ, जसले दीर्घकालीन रूपमा सहज उपचार सुनिश्चित गर्छ।”

प्रतिक्रिया

Pasupati Ayurvedic

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय