
पाँचथर । पाँचथर जिल्लाका दुर्गम क्षेत्रका नागरिकलाई शान्ति सुरक्षा सुनिश्चित गर्न जिल्ला प्रहरी कार्यालय पाँचथरले दुई स्थानमा नयाँ प्रहरी चौकी स्थापना गरेको छ। अवैध गतिविधिमा नियन्त्रण ल्याउन तथा नागरिकले निर्धक्क जीवन यापन गर्न सक्ने वातावरण तयार गर्न चौकी स्थापनाको पहल गरिएको हो।
फिदिम नगरपालिकाको पूर्वी छेउमा पर्ने वडा नं. १४ स्थित फुल्पामा एक प्रहरी पोष्ट स्थापना गरिएको छ। यस्तै, तमोर कोरिडोर अन्तर्गत पर्ने तुम्बेवा गाउँपालिकाको मौवास्थित भुल्केमा अर्को प्रहरी चौकी स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख, प्रहरी नायब उपरीक्षक (डीएसपी) कैलाशकुमार बुढाथोकीले जानकारी दिनुभयो।
पालिका, वडा तथा स्थानीयवासीको समन्वयमा प्रहरी चौकी भवन निर्माण गरिएको हो। भौतिक संरचना तयार भएपछि सुरक्षाकर्मी खटाइएको र यसले स्थानीयस्तरमा शान्ति सुरक्षामा थप योगदान पुग्ने अपेक्षा गरिएको जनप्रतिनिधिहरूले बताएका छन्।

फुल्पास्थित प्रहरी पोष्टको उद्घाटन फिदिम नगरपालिकाका नगरप्रमुख मित्रप्रसाद काफ्लेले जेठ २९ गते गर्नुभयो भने, भुल्केमा स्थापना गरिएको अस्थायी प्रहरी पोष्टको उद्घाटन प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले जेठ ३० गते गर्नुभयो।
प्रहरी चौकी स्थापना कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधि, राजनीतिक दलका नेता, विभिन्न संघसंस्था, नागरिक समाजका प्रतिनिधि, स्थानियवासी तथा सञ्चारकर्मीको उल्लेख्य सहभागिता थियो।
प्रहरी नायब उपरीक्षक बुढाथोकीका अनुसार भौगोलिक अवस्थासँगै विगतमा घटेका घटनाहरू, अपराध दर र जनघनत्वका आधारमा प्रहरी चौकीको स्थान निर्धारण गरिएको हो। उहाँले प्रहरी चौकी नेपाल प्रहरीको मात्र नभई स्थानीय नागरिकको पनि साझा सम्पत्ति भएकाले शान्ति सुरक्षाको प्रवर्द्धनमा सबैको सक्रिय सहयोग आवश्यक रहेको धारणा राख्नुभयो।
जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार हाल स्थापना गरिएका अस्थायी प्रहरी पोष्टहरूमा प्रहरी सहायक निरीक्षकको कमान्डमा गरी ६९६ जना प्रहरी कर्मचारी खटाइएको छ।