
पाँचथर । तमोर नदीमा पौडी खेल्ने क्रममा एक युवक बगेर बेपत्ता भएका छन्।
फालेलुङ गाउँपालिका–७, भालुखोप निवासी भिमकुमार राईका १६ वर्षीय छोरा शिशिर राई शनिबार फिदिम बजारबाट तमोर नदीमा पौडी खेल्न गएका बेला बेपत्ता भएका हुन्।
जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार पौडी खेल्ने क्रममा नदीको भेलले बगाउँदा उनी बेपत्ता भएका हुन्। घटनापछि प्रहरी र स्थानीयबासीले संयुक्त रूपमा दिनभर खोजी गरे पनि शिशिरको अवस्था पत्ता लगाउन सकिएको छैन।

बेपत्ताको खोजीका लागि आइतबार बिहानदेखि प्रहरीको उद्धार टोली र स्थानीय बासिन्दाहरू खटिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ। यद्यपि, आइतबार बिहानसम्म पनि शिशिरको अवस्था अज्ञात नै रहेको प्रहरीले जानकारी दिएको छ।