
फिदिम, पाँचथर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशको वर्तमान आर्थिक, सामाजिक, सांस्कृतिक र धार्मिक अवस्था सन्तोषजनक नरहेको भन्दै गहिरो चिन्ता व्यक्त गरेका छन्। नेपाल प्रेस युनियन पाँचथरद्वारा आज फिदिममा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै डा. कोइरालाले संविधान, सुशासन र आर्थिक सुधारका विषयमा सरकारले अपेक्षित काम गर्न नसकेको टिप्पणी गरे।
“नेपाली कांग्रेस र नेकपा एमाले मिल्दा केही सकारात्मक परिवर्तन होला भन्ने जनअपेक्षा थियो, तर संविधान पुनरावलोकन, भ्रष्टाचार न्यूनीकरण र आर्थिक सुधारजस्ता महत्वपूर्ण विषयमा सरकार चुकेको छ,” कोइरालाले भने। उनले वर्तमान अवस्थाले जनतामा निराशा छाएको स्वीकार गरे पनि नेपालीमा आशा, क्षमता र इच्छाशक्ति अझै रहेको विश्वास व्यक्त गरे।
उनले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने निर्णयले जनस्तरमै निराशा बढेको बताए। “घिसिङले अर्बौं बक्यौता उठाउने प्रयास गर्दै थिए, तर उहाँलाई हटाइएपछि आएका नेतृत्वले पनि खास पहल गरेनन्,” उनले आरोप लगाए।

हालैको अध्यागमन प्रकरणमा गृहमन्त्री रमेश लेखकले नैतिकताको आधारमा राजीनामा दिएको भए राम्रो हुने धारणा पनि कोइरालाले राखे। उनले नेपाली कांग्रेसभित्र यस विषयमा विभिन्न धारणा रहेको र भोलि बस्ने पदाधिकारी बैठकले औपचारिक निर्णय लिने जानकारी दिए।
देशमा केही पनि भएको छैन भन्ने धारणा गलत भएको भन्दै उनले सम्भावना भएका क्षेत्रहरूमा ध्यान दिनुपर्ने बताए। “पर्यटन, उच्चस्तरीय कृषि, जलविद्युत/सौर्य ऊर्जा र डिजिटलाइजेसन—यी चार क्षेत्रलाई केन्द्रमा राखेर काम गर्न सक्ने हो भने देशले उल्लेख्य प्रगति गर्न सक्छ,” उनले भने। डिजिटल प्रविधिको उपयोगबाट किसानलाई प्रत्यक्ष लाभ पुर्याउन सकिने धारणा राख्दै उनले शिक्षा र स्वास्थ्यलाई पनि प्राथमिकतामा राख्नुपर्ने सुझाव दिए।