
पाँचथर। सार्वजनिक सेवा प्रसारण संस्था रेडियो नेपालले देशभरका स्थानीय तहसम्म पुगेर सुरु गरेको स्थलगत रेडियो बहस कार्यक्रम आइतबार फिदिम नगरपालिकाको सभाहलमा कृषि र पर्यटनका विविध पक्षहरूबारे बहस गरिएको हो।
कार्यक्रममा नगर प्रमुख मित्रप्रसाद काफ्ले, उपप्रमुख राधाकृष्ण न्यौपाने, कृषि ज्ञान केन्द्रका प्रमुख, नयाँ सहर आयोजनाका प्रतिनिधि, नेपाल पत्रकार महासंघ, होटल व्यवसायी, पर्यटन व्यवसायी, उद्योग वाणिज्य संघका प्रतिनिधि तथा सर्वसाधारण नागरिकहरूको सहभागिता रहेको थियो। बहसमा कृषि र पर्यटन क्षेत्रको वर्तमान अवस्था, चुनौती र सम्भावनामाथि सरोकारवालाहरूले आ-आफ्नो धारणा राखेका थिए।
रेडियो नेपालका कार्यक्रम अधिकृत अर्जुन श्रेष्ठ र प्रविधिक रमेश भट्टको टोली पाँचथर आइपुगेको थियो। श्रेष्ठले रेडियो नेपालले कृषि र पर्यटनका विषयमा नागरिक र सरकारवाला बीचको संवादलाई बलियो बनाउँदै देशका सबै जिल्लाका स्थानीय तहमा यस्ता कार्यक्रम सञ्चालन गर्दै जाने जानकारी दिए।

कार्यक्रमका क्रममा पर्यटन व्यवसायी फुङ्सो जबेगूले जिल्लामा ठूला सम्भावना भए पनि तीनै तहका सरकारहरू पर्याप्त ध्यान नदिँदा पर्यटन क्षेत्र ओझेलमा परेको बताए। कृषि क्षेत्रमा उत्पादन भए पनि बजारीकरण र पहुँचको अभावका कारण कृषकहरू पेशागत रूपमा आकर्षित हुन नसकेको धारणा सहभागीहरूले व्यक्त गरे। कृषि र पर्यटन क्षेत्रमा स्थानीय सरकारले प्राथमिकता दिए सयौं युवा स्वदेशमै रोजगारीमा लाग्न सक्ने उनीहरूको विश्वास छ।
नगर प्रमुख काफ्लेले आगामी नीति तथा कार्यक्रममा कृषि र पर्यटनमा विशेष जोड दिइने बताउँदै नगर क्षेत्रका लोहकिल, सुके पोखरी, साधुटार र सिलौटी जस्ता धार्मिक तथा पर्यटकीय स्थानहरूमा होमस्टे तथा अर्गानिक उत्पादनलाई प्रोत्साहन गर्ने उल्लेख गरे।
त्यस्तै, नगर उपप्रमुख न्यौपानेले फाल्गुनन्द पदमार्गको निर्माणलाई तीव्रता दिइने जानकारी दिए। उक्त पदमार्गलाई आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गर्दै एड्भेन्चर साइकलिङ उपयुक्त बनाउने योजना रहेको उनले बताए।